काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा नयाँ फिल्म ‘बाटुलो जून’को पहिलो गीतमा रोमान्टिक अवतारमा देखिएका छन्। फिल्मको ‘मेरो मन चोर्यौ सुटुक्कै’ बोलको गीत आइतबार घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा भारतीय गायिका तृषा चटर्जी र गायक हिमांशु जान शर्माको स्वर छ। विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनमोल र प्रिन्सीको प्रेमिल जोडीलाई प्रस्तुत गरिएको छ।
गीतमा जुँगासहित देखिएका अनमोलले नृत्य र हाउभाउमा आफ्ना बुवा तथा अभिनेता भुवन केसीको शैली झल्काउने प्रयास गरेका छन्। भिडियोमा नेपाली समाजको ३०-४० को दशकको परिवेशलाई समेत चित्रण गरिएको छ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन्। फिल्ममा भुवनको जोडी अभिनेत्री गरिमा पन्तसँग बाँधिएको छ भने उनीहरूको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निर्वाह गरेका छन्।
फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर सिवाकोटीलगायत कलाकारको पनि अभिनय छ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा युग भुसाल र एसडी योगीको संगीत छ। रोमन बज्राचार्यले पार्श्व संगीत तयार पारेका छन्।
अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्मका सह-निर्माता विवेक थापा हुन्। नेपाली समाजको ३०-४० को दशकको प्रेमकथामा आधारित ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।