काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान अब युट्युबमा पनि जोडिएका छन्। झन्डै चार दशकदेखि फिल्मी क्षेत्रमा सक्रिय सलमानले ‘बिइङ सलमान खान’ नामबाट आफ्नै आधिकारिक युट्युब च्यानल सुरु गरेका हुन्।
शुक्रबार, अक्टोबर ९ मा इन्स्टाग्राम स्टोरीमार्फत च्यानलको लिंक सार्वजनिक गर्दै सलमानले आफ्ना प्रशंसकलाई नयाँ माध्यममा जोडिन आग्रह गरेका थिए। उनले आफ्नो च्यानललाई सुरुदेखिको नयाँ सुरुआत भन्दै एदेखि जेडसम्मका सामग्री त्यहीँ उपलब्ध हुने बताएका छन्।
ठूलो पर्दादेखि टेलिभिजनसम्म आफ्नो छुट्टै पहिचान बनाएका सलमानको युट्युब प्रवेशलाई प्रशंसकसँग प्रत्यक्ष जोडिने अर्को माध्यमका रूपमा हेरिएको छ। तर उनको च्यानलमा सामान्य व्यक्तिगत भिडिओ मात्रै नभई आफ्नै अभिनय शैली र व्यक्तित्वलाई हास्यपूर्ण ढंगले प्रस्तुत गरिएको छ।
च्यानलमा सार्वजनिक गरिएका सुरुआती भिडिओमा सलमान दुई फरक भूमिकामा देखिएका छन्। एउटा भूमिकामा उनी अभिनय तथा व्यक्तित्व प्रशिक्षक बनेका छन् भने अर्कोमा अभिनय सिक्न चाहने विद्यार्थीका रूपमा प्रस्तुत भएका छन्। प्रशिक्षक बनेका सलमानले आफ्नै चर्चित हाउभाउ, शरीरको चाल र संवाद बोल्ने शैली सिकाएको दृश्यलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।
वर्षौंदेखि सलमानको पहिचान बनेका आत्मविश्वास, विशिष्ट हाउभाउ र संवाद बोल्ने शैलीलाई नै भिडिओको मुख्य आकर्षण बनाइएको छ। च्यानलमा सुरुआती चरणमा १० वटा छोटा भिडिओ सार्वजनिक गरिएका थिए। अक्टोबर १० सम्ममा च्यानलमा करिब ४० हजार सब्सक्राइबर जोडिएका थिए।
यद्यपि, सलमानले आगामी दिनमा कस्ता सामग्री नियमित रूपमा सार्वजनिक गर्नेछन् भन्ने स्पष्ट भइसकेको छैन। युट्युबमा उनको प्रवेशले फिल्म र टेलिभिजनबाहिर पनि प्रशंसकसँग जोडिने नयाँ अवसर सिर्जना गरेको छ।
सलमान युट्युबमा प्रवेश गर्ने पहिलो बलिउड कलाकार भने होइनन्। आलिया भट्ट, वरुण धवन, प्रियंका चोपडा, कृति सेनन, फराह खान र शिल्पा शेट्टीजस्ता कलाकार पनि आफ्ना युट्युब च्यानलमार्फत दर्शकमाझ सक्रिय छन्।