काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तीनवटा गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ।
बाढीले घर, झोलुङ्गे पुल तथा मोटरेबल पुल बगाउनुका साथै ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्पसमेत बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच, बाढी प्रभावित क्षेत्रबाट पाँच जना गोठाला सम्पर्कविहीन भएका छन्।
प्रारम्भिक जानकारीअनुसार चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा बाढीले क्षति पुर्याएको हो। चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएपछि एक्कासि बाढी आएको र त्यसले बूढीगण्डकी नदीको जलसतह बढाएको बताइएको छ।
बाढीले चुमनुब्री गाउँपालिका-३ को सल्लेरीस्थित बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। त्यस्तै, भ्याको, फिलिम-न्याक्चेत र ठाडो भञ्ज्याङका झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। जगत बगरका नौ, सल्लेरीका पाँच र ठाडो भञ्ज्याङका तीन गरी कम्तीमा १७ वटा घर बगाएको प्रारम्भिक विवरण छ।
त्यस्तै, आरुघाट गाउँपालिकाको वडा नम्बर १ र ३ जोड्ने मान्बु-सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाको वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज बाढीले बगाएको छ। आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ।
यसैबीच, उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्। उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सम्पर्कविहीन गोठालाको खोजी तथा उद्धारको अवस्थाबारे पनि थप जानकारी प्राप्त हुन सकेको छैन।