काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा वितरणलाई सहज बनाउन आइतबारदेखि ६ स्थानबाट ग्यासको विशेष बिक्री र सिलिन्डर साटफेर गरिने भएको छ। चाडपर्वको समयमा ग्यास पाउन र फरक ब्रान्डका सिलिन्डर साट्न उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गते आइतबारदेखि ३१ गते शनिबारसम्म उपत्यकाका विभिन्न ६ स्थानमा विशेष बिक्री केन्द्र सञ्चालन हुनेछन्। ती केन्द्रबाट हरेक दिन बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ।
संघले काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास उपलब्ध गराउने जनाएको छ। पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ब्रान्डका ग्यास बिक्री तथा साटफेर गरिनेछ।
त्यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध हुने व्यवस्था मिलाइएको छ। उपभोक्ताले सम्बन्धित बिक्री केन्द्रमा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सक्नेछन्।
संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको संघले जनाएको छ।
उपत्यकामा ग्यासको आपूर्ति सहज रहे पनि चाडपर्व नजिकिँदै गर्दा सहज रूपमा ग्यास नपाएको र एउटा ब्रान्डको खाली सिलिन्डर अर्को ब्रान्डसँग साट्न नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो आएको थियो। यही समस्यालाई सम्बोधन गर्न विशेष बिक्री तथा साटफेर केन्द्र सञ्चालन गर्न लागिएको संघका अध्यक्ष दिवान चन्दले बताएका छन्।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा लागू गरिएको यो व्यवस्थाअन्तर्गत संघका सदस्य उद्योगहरूले बिक्री वितरण गर्ने ग्यास सिलिन्डर मात्र साटफेर गर्न पाइनेछ। संघले तोकिएका ६ केन्द्रबाहेक अन्य स्थानमा भने यस्तो विशेष साटफेरको व्यवस्था नहुने स्पष्ट पारेको छ।
चाडपर्वका बेला खाना पकाउने ग्यासको माग बढ्ने भएकाले विशेष बिक्री केन्द्र सञ्चालनले उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।