काठमाडौं । अभिनेत्री इभा गिरीलाई प्रायः ग्ल्यामरस लुक र बोल्ड पहिरनका कारण चिनिन्छ। तर, अब उनी दर्शकमाझ आफ्नो स्थापित छविभन्दा बिल्कुलै फरक अवतारमा प्रस्तुत हुने भएकी छन्।
फिल्म ‘पाँच पाण्डव’मा इभाले द्रोपदीको भूमिका निर्वाह गरेकी छन्। मंगलबार सार्वजनिक गरिएको फिल्मको पोस्टरमा उनलाई रातो साडी र रातो ब्लाउजमा द्रोपदीको रूपमा प्रस्तुत गरिएको छ। उनको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिने प्रयास गरेको देखिन्छ।
पोस्टरमा इभासँगै फिल्मका पाँच पाण्डवका रूपमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन्। सार्वजनिक पोस्टरले फिल्मको कथा महाभारतबाट प्रेरित रहेको संकेत गरेको छ। फिल्ममा इभासँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र सिता न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको लेखन रंग पत्रकार तथा ‘प्रसाद’का लेखक सुशील पौडेलले गरेका हुन्। फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत र पुकार धिमालको भिएफएक्स रहेको छ।
‘पाँच पाण्डव’ तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा इभाको द्रोपदी अवतार र पाँच पाण्डवको कथालाई दर्शकले कसरी ग्रहण गर्छन् भन्ने चासो अहिलेबाटै बढेको छ।