काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । तर, अविरल वर्षापछि आएको बाढीपहिरोले देशभरका सडकमा क्षति पुर्याउँदा यात्रुहरूको दसैँ यात्रा सहज बन्न सकेको छैन । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा दुईतर्फी यातायात सञ्चालनमा रहे पनि मोफसलका विभिन्न राजमार्ग अझै जोखिमपूर्ण र अवरुद्ध अवस्थामा छन् ।
सडक विभागका अनुसार नागढुंगा-नौबिसे, मुग्लिन-नारायणगढ, कान्ति लोकपथ र बीपी राजमार्गलगायत उपत्यकाबाट बाहिरिने प्रमुख सडकमा यातायात सञ्चालन भइरहेको छ । सडकमा हुन सक्ने आकस्मिक अवरोध हटाउन आवश्यक उपकरण र प्राविधिक जनशक्तिलाई तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।
तर, मुख्य नाका खुले पनि सडकको दुरवस्था, खाल्डाखुल्डी, हिलो र पहिरोका कारण यात्रुहरूले घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सडक अवरुद्ध हुने र एकतर्फी मात्रै सञ्चालन हुने समस्याले सार्वजनिक यातायातको नियमित समयतालिका प्रभावित भएको छ ।
सामान्य अवस्थामा चारदेखि पाँच घण्टामा पुगिने गन्तव्यमा अहिले १० देखि १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको व्यवसायीहरूको भनाइ छ । दसैँको समयमा यात्रुको चाप बढिरहेका बेला सडकको अवस्थाले यात्रा थप कष्टकर बनेको छ ।
पृथ्वी राजमार्गमा राति यात्रा गर्न रोक
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५, गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार उक्त खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
दिउँसो भने सडकमा दुईतर्फी यातायात सञ्चालन भइरहेको छ । यस्तै, धादिङको धुनिबेंसी नगरपालिका-९, खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
मोफसलका सडकमा अझै समस्या
बाढीपहिरोले गोरखा, म्याग्दी, नवलपरासी पूर्व र मनाङलगायत जिल्लाका सडकमा समेत क्षति पुर्याएको छ । गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकअन्तर्गत सोतीस्थित फलामे पुल बाढीले बगाएपछि आवागमन ठप्प भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका-२, बैसरीमा पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा छ । नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत जन्ती पहिरो क्षेत्र र मनाङको बेँसीसहर-खाङ्सार सडकमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
सडक साँघुरो र जोखिमपूर्ण भएकाले केही खण्डमा साना सवारी साधन मात्रै सञ्चालन गर्न सकिने अवस्था छ । यसले लामो दूरीको यात्रा गर्ने यात्रुलाई थप कठिनाइ भएको छ ।
बेनी-जोमसोम र रसुवागढी सडकको अवस्था नाजुक
बाढीपहिरोबाट चीनसँगका व्यापारिक नाका जोड्ने सडकहरू पनि नराम्ररी प्रभावित भएका छन् । कालीगण्डकी नदीको कटानले क्षति पुर्याएको बेनी-जोमसोम सडकमा अस्थायी मार्ग खोलिए पनि सडक साँघुरो र हिलाम्मे छ । कोरला नाकाबाट आएका करिब पाँच सय मालवाहक ट्रक तथा कन्टेनर बाटोमै रोकिएको र दसैँका लागि ल्याइएका फलफूल तथा खाद्यान्नसमेत प्रभावित भएको जनाइएको छ ।
यस्तै, रसुवागढी नाका जोड्ने सडकको करिब ४० किलोमिटर खण्ड बाढीले क्षति पुर्याएको सडक विभागले जनाएको छ । नुवाकोटको ढुंगे बजारदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खुले पनि स्याफ्रुबेँसीदेखि टिमुरेसम्मको करिब १६ किलोमिटर सडक भोटेकोशी नदीले बगाएको छ ।
क्षतिग्रस्त सडक पुनः सञ्चालनमा ल्याउन स्याफ्रुबेँसी क्षेत्रमा बेलिब्रिज निर्माणको तयारी भइरहेको छ । त्रिशूली नदीमा ७० मिटर लामो बेलिब्रिज निर्माणका लागि जग तयार पार्ने काम सुरु भएको विभागले जनाएको छ । तर, पुलपारिको सडक पूर्ण रूपमा क्षति भएकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था छ ।
सडक विभागका अनुसार रसुवागढी नाकासम्मको सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही महिना लाग्न सक्छ ।