काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का नेताहरू निषेधित प्रदर्शनस्थल जन्तरमन्तरमा प्रवेश गरी नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका पार्टीका नेताहरूलाई मंगलबार बिहान दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो।
पार्टीका संस्थापक अभिजित दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आशुतोष रंका र सौरभ दाससहितका प्रदर्शनकारीले प्रहरीको अवरोध पार गर्दै भारतीय झण्डासहित नाराबाजी गरेको देखिन्छ। पक्राउ परेका नेताहरूले प्रदर्शनबाट पछि नहट्ने बताएका छन्।
भारतमा मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई लिएर पछिल्ला केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ। विपक्षी दलहरूले उक्त प्रक्रियाले सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुर्याउने र ठूलो सङ्ख्यामा योग्य मतदाताको नाम सूचीबाट हट्न सक्ने आरोप लगाउँदै आएका छन्। तर भारतीय जनता पार्टी र निर्वाचन आयोगले आरोप अस्वीकार गरेका छन्।
गृह मन्त्रालयले जन्तरमन्तरलाई प्रदर्शनस्थलका रूपमा तोकिएको सूचीबाट हटाउने घोषणा गरेपछि विवाद थप चर्किएको हो। सरकारले अनुमति लिएर प्रदर्शन गर्न सकिने तीनवटा वैकल्पिक स्थान तोकेको छ। सीजेपीले भने जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै आएको छ।
पार्टीका नेता रंकाले आफूहरूले प्रदर्शनको अनुमति मागेको केही समयमै जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाइएको आरोप लगाएका छन्। पार्टीले यसअघि पनि उक्त स्थानमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर प्रदर्शनकारीलाई त्यहाँ पुग्न नदिन दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
प्रदर्शन नियन्त्रणका लागि प्रहरीले कैयौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै रेल सेवा प्रभावित पारेको थियो। हजारौँ प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएका थिए। सप्ताहान्तमा हजारौँ प्रदर्शनकारी पक्राउ परेर रिहा भएको विवरण सार्वजनिक भएका छन्। पक्राउ पर्नेमा केही पत्रकारसमेत रहेको बताइएको छ।
यसैबीच, विपक्षी दलहरूले सोमबार दिल्लीको प्रमुख व्यापारिक क्षेत्र कन्नट प्लेसबाट सर्वोच्च अदालतसम्म र्याली निकालेका थिए। भारतीय राष्ट्रिय कांग्रेसले पनि मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दिएको छ।
आलोचकहरूले मतदाता सूची पुनरावलोकनका क्रममा करोडौँ मानिसको नाम हटाइएको र यसले मतदान गर्न योग्य नागरिकसमेत मताधिकारबाट वञ्चित हुन सक्ने जोखिम रहेको बताएका छन्। ‘द इन्डियन एक्सप्रेस’ले मुख्य निर्वाचन आयुक्तले मतदाता दर्तामा गरिएको परिवर्तनबारे अन्य दुई निर्वाचन आयुक्तले उठाएका चिन्तालाई बेवास्ता गरेको समाचार प्रकाशित गरेपछि विवाद थप चर्किएको हो। निर्वाचन आयोगले भने निर्णय सर्वसम्मत भएको दाबी गरेको छ।
बेरोजगारी, परीक्षा अनियमितता र सरकारी जवाफदेहिताको मागसहित सक्रिय हुँदै आएको सीजेपी यसअघि विद्यार्थी नेतृत्वका प्रदर्शनमा समेत सहभागी भएको थियो। भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरेको भनाइपछि व्यङ्ग्यात्मक रूपमा सुरु भएको यो समूह पछिल्लो समय युवाका असन्तुष्टिलाई राजनीतिक दबाबमा रूपान्तरण गर्ने अभियानमा सक्रिय बनेको छ।