काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र नयाँ पात्रहरूको प्रवेशले कथामा ल्याउने उतारचढावलाई देखाइएको छ। दयाहाङ राईको काजी पात्रको जीवनमा आउने नयाँ मोडसँगै विपिन कार्कीको भूमिकाले पनि ट्रेलरमा विशेष आकर्षण थपेको छ।
ट्रेलरअनुसार बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेर नयाँ व्यवसाय सुरु गर्छन्। तर, उनीहरूको जीवनमा त्यसपछि झन् रोचक घटनाक्रम सुरु हुन्छ। सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको दृश्यले कथामा नयाँ ट्विस्ट ल्याएको छ।
त्यस्तै, काजीको टोली र विपिन कार्कीले अभिनय गरेको रैथाने गुन्डा समूहबीचको टकराव, एक्सन र हास्यप्रधान दृश्यले ट्रेलरलाई मनोरञ्जनात्मक बनाएको छ। ट्रेलरमा मिरुना मगर पनि देखिएकी छन्। काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकमा कथाको आगामी मोडबारे थप कौतुहलता सिर्जना गरेको छ।
यसअघि सार्वजनिक टिजरले पनि दर्शकमाझ उत्सुकता बढाएको थियो। विशेषगरी काजी र मैयाको सम्बन्धमा आउने परिवर्तन, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध र विपिन कार्कीको प्रवेशलाई दर्शकले चासोका साथ हेरेका थिए।
‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार सिनेमाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेपछि पाँचौँ शृङ्खलाप्रति पनि दर्शकको अपेक्षा उच्च छ। ‘कबड्डी ५’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ। बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, मिरुना मगरलगायत कलाकारको अभिनय छ।
सिनेमामा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने सिनेमाको विदेश वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ।