काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोट तथा टोली निर्माणको तयारी सुरु गरेको छ । प्रदेश खेलकुद परिषद्ले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल समावेश गरिएका छन् । प्रतियोगितामा गण्डकी प्रदेशको सहभागिता सुनिश्चित गर्न स्थानीय तहदेखि प्रदेशस्तरसम्म खेलाडी छनोट गरिनेछ ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माका अनुसार पालिकास्तरीय छनोट प्रतियोगिता कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । त्यसपछि कात्तिक १३ देखि १५ गतेसम्म जिल्लास्तरीय र कात्तिक १६ देखि २० गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिनेछ ।
स्थानीय तहमा छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् भने जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी तथा टोली निर्धारण गरिने सदस्यसचिव शर्माले बताए ।
परिषद्ले निर्धारित मापदण्डअनुसार खेलाडी छनोट प्रक्रिया अघि बढाउन तथा प्रतियोगितालाई व्यवस्थित बनाउन सम्बन्धित जिल्ला खेलकुद विकास समिति, स्थानीय तह र सरोकारवालाबीच समन्वय गर्न आग्रह गरेको छ ।
त्यस्तै, खेलाडी छनोट र प्रदेशको टोली निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँग अनुरोध गरिएको परिषद्ले जनाएको छ ।
यसअघि गण्डकी प्रदेशको पोखरामा विसं २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । उक्त प्रतियोगितामा गण्डकी प्रदेश पहिलो भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुदको समापनका क्रममा दुई वर्षभित्र कर्णालीमा दसौँ संस्करण आयोजना गर्ने घोषणा गरिएको भए पनि प्रतियोगिता निर्धारित समयभन्दा ढिलो हुन लागेको हो ।