काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ७ गते (नोभेम्बर २३) भारतको औपचारिक भ्रमणमा जाने गरी तयारी अघि बढेको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी भइरहेको हो।
यद्यपि, भ्रमणको मिति र विस्तृत कार्यसूचीबारे नेपाल तथा भारत दुवै पक्षले औपचारिक घोषणा गरिसकेका छैनन्। यसअघि भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाहको नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमण हुन सक्ने समाचार सार्वजनिक गरेका थिए।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रस्तावित भ्रमणमा दुई देशबीच रेल तथा अन्य यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणका विषयले प्राथमिकता पाउन सक्छन्।
विशेषगरी रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र जनकपुर-अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा थप प्रगति हुन सक्ने जनाइएको छ। ऊर्जा क्षेत्रतर्फ ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ जलविद्युत आयोजना पनि छलफलका सम्भावित विषय हुन्। दुवै आयोजनाको विकासमा भारतको सरकारी कम्पनी एनएचपीसी संलग्न छ।
सीमा पूर्वाधारअन्तर्गत दोधारा-चाँदनी एकीकृत जाँच चौकी, महाकाली नदीमा मोटरेबल पुल र भैरहवा एकीकृत जाँच चौकीका विषयमा पनि छलफल हुन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यस्तै, भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतीय सहयोगको विशेष प्याकेजबारे कुराकानी हुन सक्ने जनाइएको छ। तर, यी विषयमा सम्झौता हुने वा सहयोग घोषणा गरिनेबारे औपचारिक पुष्टि भएको छैन।
भारतले प्रधानमन्त्री शाहलाई गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसयता दुवै देशका अधिकारीबीच भ्रमणको मिति र कार्यसूचीका विषयमा छलफल हुँदै आएको बताइएको छ। गत असोज २३ गते परराष्ट्र मन्त्रालयले पनि भ्रमणको गृहकार्य भइरहेको तर मिति निश्चित भइनसकेको जनाएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण हुने बताएका थिए।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। ती भेटमा आर्थिक सहकार्य, ऊर्जा र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाह गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका थिए। त्यसैले प्रस्तावित भारत भ्रमण प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।
प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता, भ्रमणको विस्तृत कार्यतालिका र सम्भावित सम्झौताबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।