काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी दबाब अस्वीकार गर्दै रुसका तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण गर्ने घोषणा गरेका छन्। अमेरिकाको आग्रहमा तीन दिनका लागि आक्रमण रोके पनि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको भन्दै उनले अब थप संयम अपनाउन नसकिने बताएका हुन्।
फाइनान्सियल टाइम्ससँग कुरा गर्दै जेलेन्स्कीले अमेरिकाले रुसमाथि आक्रमण रोक्न दबाब दिन युक्रेनसँगको गुप्तचर सूचना आदानप्रदान बन्द गर्ने चेतावनी दिएको आरोप लगाए। उनका अनुसार रुसी आक्रमणको पूर्वसूचना प्राप्त गर्न महत्त्वपूर्ण मानिने अमेरिकी गुप्तचर सहयोग र सैन्य प्रविधिमा निर्भर युक्रेनमाथि यस्तो दबाब दिइएको हो।
जेलेन्स्कीले अमेरिकाले प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका थप क्षेप्यास्त्र उपलब्ध गराएमा मात्रै रुसी तेल पूर्वाधारमाथिका आक्रमण रोक्ने संकेत गरेका छन्। रुसको युद्ध अभियानलाई आर्थिक रूपमा कमजोर बनाउन तेल प्रशोधन केन्द्रमा आक्रमण गर्नु आवश्यक रहेको युक्रेनको तर्क छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ऊर्जा युद्धविराम पालना गर्न रुस पनि सहमत भए आफूले त्यसलाई स्वीकार गर्ने जेलेन्स्कीले बताएका थिए। तर, प्रस्ताव सार्वजनिक भएको केही घण्टामै रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको उनको आरोप छ। क्रेमलिनले भने उक्त सम्झौतामा सहमति जनाएको थिएन।
जेलेन्स्कीले रुसबाट डिजेल आयातसम्बन्धी सम्झौतापछि अमेरिकाले युक्रेनमाथि दबाब बढाएको आरोपसमेत लगाएका छन्। रुस र अमेरिकाबीच भएको तीन लाख टन डिजेलसम्बन्धी सम्झौताको आलोचना गर्दै उनले यस्तो व्यापारले रुसी युद्ध अभियानलाई आर्थिक सहयोग पुग्ने बताएका छन्।
युक्रेनी सेनाले रुसी आक्रमणको पूर्वसूचना प्राप्त गर्न अमेरिकी गुप्तचर सूचनामा निर्भर रहँदै आएको छ। त्यस्तै, युद्धका क्रममा ड्रोन सञ्चालन, अग्रपङ्क्तिका सैनिकसँग सञ्चार र सैन्य गतिविधिका लागि एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गर्दै आएको छ।
स्टारलिंक सेवाको गति घटाइएको विषयमा पनि जेलेन्स्कीले असन्तुष्टि जनाएका छन्। उनले यसलाई प्राविधिक समस्या नभई इच्छाशक्तिसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले गुप्तचर सूचना आदानप्रदान रोकिएको भन्ने आरोप अस्वीकार गरेका छन्। स्टारलिंक सेवामा प्रतिबन्ध लगाइएको भन्ने आरोपलाई मस्कले पनि अस्वीकार गरेका छन्।
इरान युद्धका कारण अमेरिकी हतियारको भण्डारमा दबाब बढिरहेको अवस्थामा युक्रेनले हवाई प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्र अभाव झेलिरहेको छ। यस्तो परिस्थितिमा अमेरिकाबाट थप सैन्य सहयोग प्राप्त गर्ने विषय युक्रेनका लागि चुनौतीपूर्ण बनेको छ।
यसैबीच, जेलेन्स्कीले ट्रम्पको रुसप्रतिको नीतिमाथि पनि आलोचना गरेका छन्। रुस र अमेरिकाबीचको निकटताप्रति असन्तुष्टि जनाउँदै उनले अमेरिका-युक्रेन सम्बन्ध सुधार्ने जिम्मेवारी युक्रेनको मात्र नभएको बताएका छन्।
यसअघि ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा पनि चर्काचर्की भएको थियो। त्यसयता जेलेन्स्कीले अमेरिकी मध्यस्थतामा हुने शान्ति सम्झौताप्रति सकारात्मक देखिने प्रयास गरे पनि सम्झौताका सर्त न्यायोचित हुनुपर्ने अडान राख्दै आएका छन्।
रुसले युक्रेनमाथि आक्रमण जारी राखेको र अमेरिकाले सैन्य सहयोगमा दबाब बढाएको आरोपबीच जेलेन्स्कीको पछिल्लो अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने संकेत गरेको छ। अब अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउँछ वा कूटनीतिक दबाबमार्फत रुसी तेल केन्द्रमाथिका आक्रमण रोक्ने प्रयास गर्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ।