काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा यतिबेला फूल ढकमक्क फुलेका छन् । करिब साढे दुई बिघा क्षेत्रफलमा फैलिएको बगान हेर्न दैनिक सयौँ मानिस पुग्न थालेपछि क्षेत्र यतिबेला निकै चहलपहलमय बनेको छ ।
बगानमा आउने आगन्तुकहरू कोही टिकटक बनाउँदै, कोही फोटो खिच्दै त कोही अध्ययन-अवलोकन गर्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गरिरहेको दृश्य र बाली जोगाउन चरालाई भगाउन राखिएका ‘डमी’ले बगानलाई अझ आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएको मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा आगन्तुकहरूलाई रमाइलो अनुभव हुने गरेको छ ।
अवलोकनका लागि भरतपुर-३ बाट आएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताए । उनीहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गरेका छन् ।
यसैगरी, समूहमा घुम्न आएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताए । नारायणगढबाट आएका उनीहरूले टिकटकमा देखेर यहाँ आउने प्रेरणा मिलेको बताएका छन् । अघिल्लो वर्ष फूल सुकेको समयमा योजना बनेकाले आउन नपाए पनि यस वर्ष भने फूल फुलेको समयमा अवलोकन गर्न पाएको उनीहरूको भनाइ छ ।
एग्रो-इको टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले स्थानीय क्षेत्रमा चहलपहल बढाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् ।
किसान चन्द्रप्रसाद अधिकारीका अनुसार अधिकांश मानिस घुम्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् भने केही आगन्तुक खेतीबारे जानकारी लिन पनि आउने गरेका छन् । “बीउ कहाँ पाइन्छ रु हामी पनि खेती गर्न चाहन्छौँ भन्दै सल्लाह लिन आउनुहुन्छ,” उनले भने, “सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।”
अधिकारीले कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी प्राङ्गारिक खेती गर्न थालेको ३६ वर्ष भएको बताए । उनले सूर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका बाली पनि उत्पादन गर्दै आएका छन् । उनका अनुसार गत वर्ष यहाँ गाजर र चुकन्दर खेती गरिएको थियो भने यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको हो ।
उनले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर सूर्यमुखी खेती गरेको जानकारी दिए । यहाँ उत्पादन हुने प्राङ्गारिक वस्तुको बजारको समस्या नभएको बताउँदै उनले काठमाडौँस्थित अग्र्यानिक मार्टमा उत्पादन पठाइने गरेको बताए । उनका अनुसार सूर्यमुखीको तेल प्रतिलिटर आठ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
उनका अनुसार मङ्सिरको सुरुवातमा रोपिएको सूर्यमुखी चैत महिनामा उत्पादन दिन्छ । यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकनका लागि आउने गरेका हुन् । “मैले सुरुमा पर्यावरणमैत्री कृषि गरिरहेको थिएँ, पछि यससँग पर्यटन पनि जोडियो,” उनले भने ।
नेपालको भौगोलिक विविधताअनुसार विभिन्न प्रकारका कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले कृषि विज्ञको परामर्श र नीति निर्माताको सहयोग आवश्यक रहेको बताए । उनले कृषिमा अत्यधिक नाफाको अपेक्षा गर्नु भन्दा यसलाई आनन्द र सम्भावनाको क्षेत्रका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।