काठमाडौं । उमेर १६ वर्ष, कक्षा ९ मा अध्ययनरत विद्यार्थी। तर क्रिकेट मैदानमा उनको प्रदर्शन भने अनुभवी खेलाडीको भन्दा कम छैन। नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सबाट खेलिरहेका युवा मध्यम गतिका बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिँदै नेपाली क्रिकेटमा आफ्नो सम्भावनाको बलियो संकेत दिएका छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राहुलले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर चार विकेट लिए। उनले काठमाडौंका साम हेजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई पवेलियनको बाटो देखाए। उनको प्रभावशाली बलिङले काठमाडौंको ब्याटिङलाई दबाबमा राख्न महत्त्वपूर्ण भूमिका खेल्यो।
राहुलको प्रदर्शनकै बीच काठमाडौं गोर्खाज ११५ रनमा समेटियो र जनकपुर बोल्ट्सले ११६ रनको लक्ष्य पायो। उक्त लक्ष्य जनकपुरले आठ विकेट बाँकी छँदै पूरा गर्दै जित निकाल्यो।
राहुलका लागि यो एनपिएलमा लगातार सुधारिएको प्रदर्शन हो। यसअघि कर्णाली याक्सविरुद्धको डेब्यु खेलमा उनले १५ रन खर्चेर दुई विकेट लिएका थिए। पहिलो खेलमा केही नर्भस भए पनि विकेट लिन सफल भएपछि आत्मविश्वास बढेको उनले बताएका छन्।
काठमाडौंविरुद्धको खेलपछि राहुलले पहिलो खेलको अनुभवले दोस्रो खेलमा सहज बनाएको बताए। कर्णालीविरुद्धको डेब्यु खेलमा आफू केही आत्तिएको उल्लेख गर्दै उनले पहिलो खेलमै विकेट लिएपछि डर हटेको र त्यसले पछिल्लो खेलमा राम्रो प्रदर्शन गर्न मद्दत गरेको प्रतिक्रिया दिएका छन्।
मधेश प्रदेशको रौतहटस्थित चन्द्रपुरका राहुलले खुला मैदानबाट क्रिकेट खेल्न सुरु गरेका हुन्। चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखारेका उनले कम उमेरमै तीव्र गतिमा बल फ्याँक्न सक्ने क्षमताका कारण ध्यान आकर्षित गर्न थालेका थिए।
जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट छनोट भएर टोलीमा आबद्ध हुनु राहुलको क्रिकेट यात्राको महत्त्वपूर्ण मोड बन्यो। प्रतिभा पहिचान गर्ने प्रतियोगिताबाट छनोट हुँदै देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलसम्म पुग्नु उनको मेहनत र क्षमताको परिणाम हो।
एनपिएलअघि चन्द्रपुर क्रिकेट लिगमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए। त्यहाँ म्यान अफ द म्याच बनेका राहुलले एनपिएलमा पनि आफ्नो क्षमता देखाउने संकेत दिएका थिए। कर्णालीविरुद्धको पहिलो खेलमा दुई विकेट र काठमाडौंविरुद्धको दोस्रो खेलमा चार विकेट लिएपछि उनी अहिले चर्चामा आएका छन्।
कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाउनु र त्यसलाई प्रदर्शनमार्फत प्रमाणित गर्नु राहुलका लागि महत्त्वपूर्ण उपलब्धि हो। उनको पछिल्लो प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभाको सम्भावना उजागर गरेको छ। अब निरन्तरता, अनुशासन र अनुभवसँगै राहुलले आगामी खेलमा कस्तो प्रभाव पार्छन् भन्ने चासो बढेको छ।