काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले अध्यागमन विभागले पर्यटक तथा पदयात्रीलाई पदयात्रा नगर्न आग्रह गरेको छ । विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन र मौसमसम्बन्धी सूचनाको पालना गर्न अनुरोध गरेको हो ।
विभागले मंगलबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।
मौसम प्रतिकूल हुने सम्भावना रहेकाले उक्त अवधिभर पर्यटकलाई सुरक्षित स्थानमा बस्न विभागले आग्रह गरेको छ । विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा पदयात्राको अनुमति लिइसकेका पदयात्रीलाई समेत सम्भावित जोखिमबाट जोगिन पदयात्रा नगर्न अनुरोध गरिएको छ ।
विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्नका लागि नयाँ अनुमति मंगलबारदेखि जारी नगरिने जानकारीसमेत गराइएको छ । मौसममा सुधार नआउँदासम्म जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचनालाई गम्भीरतापूर्वक लिन विभागले आग्रह गरेको छ ।
यसैगरी, ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको पालना गर्न र पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्न अनुरोध गरिएको छ । अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मौसमको प्रतिकूलताबाट हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
हिमाली क्षेत्रमा मौसम अचानक परिवर्तन हुन सक्ने र भारी हिमपात तथा हिमपहिरोले पदयात्रा जोखिमपूर्ण बनाउन सक्ने भएकाले सम्बन्धित निकायको अर्को सूचना नआएसम्म सुरक्षित रहनु र जोखिमपूर्ण यात्रा स्थगित गर्नु आवश्यक देखिएको छ।