काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिएसँगै कार्यभार सम्हालेका छन् । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यक्षमा नियुक्त भएका पण्डितले सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री डा। विक्रम तिमिल्सिनाबाट शपथ लिएका हुन् ।
शपथपछि उनले नियुक्तिपत्र बुझ्दै चाबहिलस्थित सरस्वतीनगरमा रहेको बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । पण्डित चलचित्र विकास बोर्डको १९औँ अध्यक्ष बनेका हुन् । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ ।
निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल सकिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असोज १ गते नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन खुलाएको थियो । अध्यक्ष पदका लागि पण्डितसहित १२ जनाले आवेदन दिएका थिए ।
आवेदकमध्येबाट सर्टलिस्टमा परेका मनिष पण्डित, निशा अधिकारी र नरेशकुमार पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्ले तीनमध्ये पण्डितलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पण्डित चलचित्र निर्माता तथा लेखकसमेत हुन् । उनले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बिसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’बाट निर्माण क्षेत्रमा प्रवेश गरेका थिए । उक्त चलचित्रमा उनले कार्यकारी निर्माताका रूपमा काम गरेका थिए ।
यसअघि चलचित्र विकास बोर्डमा बक्स अफिस कन्सल्टेन्टका रूपमा काम गरिसकेका पण्डित करिब आठ वर्षपछि सोही संस्थाको नेतृत्वमा पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल बोर्ड अध्यक्ष रहँदा पनि उनले बक्स अफिस कन्सल्टेन्टका रूपमा काम गरेका थिए ।
नेपाली चलचित्र क्षेत्रको नियमन, प्रवर्द्धन तथा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको नेतृत्व सम्हालेका पण्डितसामु अब चलचित्र क्षेत्रका समस्या सम्बोधन गर्ने र संस्थागत कामलाई प्रभावकारी बनाउने जिम्मेवारी हुनेछ।