काठमाडौं । नेपाल प्रिमियर लिग , एनपीएल खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।
श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय , ओडीआई खेलका लागि उनलाई पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुन एनपीएलमा फर्किने सम्भावना छ । त्यस अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।
घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीहरू एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनका अनुसार कर्णालीले थप रकम तिरेर खेलाडीलाई एनपीएलमा सहभागी गराउने विषयमा पनि छलफल गरिरहेको थियो । तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने भएको हो । अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुनस् कर्णालीमा आबद्ध हुने अपेक्षा गरिएको घिमिरेले बताए ।
घिमिरेले यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने विषयका रूपमा नलिएको पनि स्पष्ट पारे । भविष्यमा पनि पाकिस्तानी खेलाडी आवश्यक पर्ने भएकाले आपसी सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
कर्णालीले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ । फरहान राष्ट्रिय टोलीमा फर्किने भएपछि कर्णालीले बीचको अवधिका लागि अर्को खेलाडी ल्याउने तयारी गरेको छ ।
घिमिरेका अनुसार एनपीएलमा विदेशी खेलाडी ल्याउनु नेपाली क्रिकेटको स्तर र लोकप्रियता बढाउने प्रयासको हिस्सा हो । यस्तो अवस्थामा प्रतियोगिता सुरु हुने समयमा देखिएको समस्याले आफूहरूलाई निराश बनाएको उनले बताए ।