काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । तेस्रो संस्करणको प्रतियोगितामा पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको पहिलो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ । यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ बजेबाट सुरु हुनेछ ।
आजको पहिलो खेलमा विराटनगर र चितवन दुवै जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् । दोस्रो खेलमा भने पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स र पहिलो उपाधिको खोजीमा रहेको कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
जनकपुर यसपटक पनि उपाधि जित्दै पहिलो संस्करणको सफलता दोहोर्याउने योजनामा छ । यता, कर्णाली पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने अवसर हुनेछ ।
यसपटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम ९डीआरएस० प्रयोग गरिँदैछ । यसले खेलका विवादास्पद निर्णयमा पुनरावलोकनको सुविधा प्रदान गर्नेछ । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि गरिएको छ । क्यानका अनुसार उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ । आज हुने दुवै खेलले प्रतियोगितामा टोलीहरूको प्रदर्शन र उपाधि यात्रालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।