एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले पार्टीभित्र अनुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सञ्चालन गर्दै आएको अभियान थप कडा बनाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिएसँगै यसपटक ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ। निष्कासनमा पर्नेमा सेनाका १६ जना अधिकारीसमेत छन्।
बेइजिङमा चार दिनसम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ पूर्ण बैठक बिहीबार सम्पन्न भएको थियो। बैठकपछि जारी विज्ञप्तिमा ३३ जना नेताले गम्भीर अनुशासनहीनता तथा कानुनविपरीतका गतिविधि गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको उल्लेख छ। यद्यपि, उनीहरूमाथि लागेका आरोप र कारबाहीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
सन् २०१२ मा चीनको नेतृत्व सम्हालेयता सीले भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो शासनको प्रमुख आधार बनाउँदै आएका छन्। उनले भ्रष्टाचारलाई चिनियाँ कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो खतराका रूपमा व्याख्या गर्दै आएका छन्।
पार्टी अनुशासनसम्बन्धी आयोगका अधिकारी झाङ फुहाईका अनुसार सन् २०१२ यता दुई करोडभन्दा बढी व्यक्तिलाई विभिन्न अनुशासनहीन गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको छ। अनावश्यक औपचारिकता, कर्मचारीतन्त्रको हाबी, विलासी जीवनशैली र फजुल खर्चलाई समेत अनुशासन उल्लङ्घनका गतिविधिमा समेटिएको छ।
यस वर्षको पहिलो नौ महिनामा मात्रै पार्टी संरचनाभित्र रहेका ६ लाख ८० हजार जनामाथि विभिन्न अनुशासनहीन गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको चीनको भ्रष्टाचारविरोधी निकायले जनाएको छ।
तर सीको भ्रष्टाचारविरोधी अभियानलाई केवल आर्थिक अनियमितता नियन्त्रणको प्रयासका रूपमा मात्रै हेरिएको छैन। विश्लेषकहरूका अनुसार पार्टीको विचारधाराप्रति प्रतिबद्ध नहुनु र नेतृत्वको आदेश पालना नगर्नुलाई समेत अनुशासनहीनताका रूपमा व्याख्या गरिँदै आएको छ। यसले भ्रष्टाचार नियन्त्रणसँगै पार्टी र सत्तामाथि सीको पकड बलियो बनाउने रणनीतिका रूपमा पनि काम गरेको उनीहरूको विश्लेषण छ।
यसपटक कारबाहीमा पर्ने उच्च तहका नेताहरूमा सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङरुई, पूर्व उच्च सैनिक जनरल झाङ युस्या र लिउ झेनलीसमेत छन्। विशेषगरी चिनियाँ सेनाका उच्च अधिकारीमाथि भएको कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। झाङ युस्या केन्द्रीय सैन्य आयोगका उपाध्यक्षसमेत थिए। उक्त आयोगले चिनियाँ सेनाको सञ्चालन र नियन्त्रण गर्छ।
सेनाको उच्च नेतृत्वमा भएको व्यापक फेरबदलले चीनको सैन्य नेतृत्व र युद्धका लागि सेनाको तयारी क्षमतामाथि समेत प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।
सीको तेस्रो कार्यकालमा मात्रै निष्कासनमा पर्ने पार्टी सदस्यको संख्या ५१ पुगेको छ। पहिलो कार्यकालमा ३५ र दोस्रो कार्यकालमा पाँच जना निष्कासन भएका थिए। यसले पछिल्लो कार्यकालमा पार्टीभित्र अनुशासन कायम गर्ने नाममा कारबाहीको दायरा थप विस्तार भएको देखाउँछ।
यसैबीच, सन् २०२७ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१औँ महाधिवेशनलाई समेत अहिलेको अभियानसँग जोडेर हेरिएको छ। उक्त महाधिवेशनबाट आगामी नेतृत्व चयन हुने भएकाले सम्भावित नेतृत्वका आकांक्षीमाथि सीले निगरानी बढाएको विश्लेषकहरूको आकलन छ।
धेरै विश्लेषकले सी चौथो कार्यकालका लागि पनि चीनको सर्वोच्च नेतृत्वमा रहने अनुमान गरेका छन्। पार्टीभित्र आफ्नै निकटस्थ र आफूले अवसर दिएका नेताहरूसमेत कारबाहीमा पर्नुले सीको शक्ति र प्रभाव थप बलियो रहेको संकेत गर्ने उनीहरूको विश्लेषण छ।
तर, लामो समयसम्म राजनीतिक शक्ति एउटै व्यक्तिको हातमा केन्द्रित हुँदा भविष्यमा गम्भीर समस्या निम्तिन सक्ने चेतावनीसमेत विश्लेषकहरूले दिएका छन्। यसरी भ्रष्टाचार नियन्त्रण र पार्टी अनुशासनको अभियानमार्फत सीले एकातिर पार्टीभित्रको नियन्त्रण कडा बनाइरहेका छन् भने अर्कोतिर आफ्नो राजनीतिक पकड थप मजबुत बनाउँदै लगेको देखिन्छ।