काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एक्सन जनरालाई पुनः चर्चामा ल्याएको फिल्म थियो, ‘१२ गाउँ’। दुई वर्षअघि दसैंमा प्रदर्शन भएको यस फिल्मले बक्स अफिसमा झन्डै २० करोड रुपैयाँको व्यापार गर्दै नेपाली एक्सन फिल्मको नयाँ रेकर्ड बनाएको थियो।
पहिलो भागको अप्रत्याशित सफलतापछि यसको सिक्वेल ‘१२ गाउँ २’प्रति दर्शकको अपेक्षा पनि उच्च थियो। तर, अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा फिल्म अहिले बक्स अफिसमा कमजोर देखिएको छ।
दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आएको ‘१२ गाउँ २’ले प्रदर्शनको बुधबारसम्म दुई करोड रुपैयाँभन्दा बढी व्यापार गरेको जनाइएको छ। जबकि, यसको पहिलो भागले प्रदर्शनको पहिलो सातामै पाँच करोड रुपैयाँभन्दा बढी कमाएको थियो।
पहिलो दिनदेखि नै अपेक्षित दर्शक तान्न नसकेको फिल्मले दोस्रो सातामा आइपुग्दा करिब ६० प्रतिशत शो गुमाइसकेको छ। अहिले देशभर फिल्मका शो ५० भन्दा कम रहेको बताइएको छ।
आखिर पहिलो भागले बक्स अफिसमा तहल्का मच्चाउँदा सिक्वेल किन नराम्रोसँग चुक्यो त ?
यसका पछाडि मुख्यतः तीनवटा कारण देखिएका छन्।
पहिलो कारण हो, प्रदर्शनको मुखैमा पहिलो भाग ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक हुनु। सुरुमा निर्माताले यसलाई सिक्वेलको प्रचार रणनीतिका रूपमा प्रयोग गर्न खोजेको देखिए पनि त्यसको परिणाम उल्टो परेको विश्लेषण गरिएको छ। युट्युबमा पहिलो भाग हेरेपछि धेरै दर्शकले फिल्मप्रति नकारात्मक प्रतिक्रिया दिएका थिए। त्यसको असर सिक्वेलप्रतिको दर्शक आकर्षणमा समेत परेको देखिन्छ।
दोस्रो र महत्त्वपूर्ण कारण हो, कमजोर कथा तथा पटकथा। फिल्ममा पात्रहरूको स्थापना, द्वन्द्व निर्माण र घटनाक्रमको प्रस्तुतिमा कमजोरी देखिएको समीक्षकहरूको विश्लेषण छ। घटनाक्रम सहजै अनुमान गर्न सकिने हुँदा दर्शकमा उत्सुकता जगाउन फिल्म असफल भएको देखिन्छ। एक्सन दृश्यमा समेत नयाँपन नहुँदा फिल्मले दर्शकबाट अपेक्षित सकारात्मक प्रतिक्रिया पाउन सकेन।
तेस्रो कारण हो, दसैंमा एकैसाथ प्रदर्शनमा आएका फिल्मबीचको प्रतिस्पर्धा। ‘१२ गाउँ २’ले ‘आ बाट आमा २’ र ‘छ माया छपक्कै २’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्यो। एकै समयमा तीन फिल्म प्रदर्शन हुँदा दर्शक र हलका शो बाँडिए। त्यसमाथि दर्शकको प्रतिक्रिया कमजोर हुँदा फिल्मको व्यापार थप प्रभावित बन्यो।
‘१२ गाउँ २’को कमजोर व्यापारले नेपाली फिल्म क्षेत्रलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। त्यो हो, अब पुरानो सफलताको ब्रान्ड र सिक्वेलको नामले मात्रै दर्शकलाई हलसम्म तान्न सकिँदैन।
पहिलो भाग हिट हुँदैमा दोस्रो भाग पनि हिट हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। दर्शकलाई हलसम्म ल्याउन बलियो कथा, उत्कृष्ट प्रस्तुति र नयाँपन आवश्यक हुन्छ भन्ने कुरा ‘१२ गाउँ २’को बक्स अफिस नतिजाले फेरि एकपटक पुष्टि गरेको छ।