काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहणमा आधारित हलिउड फिल्म ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । सन् १९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको कथामा आधारित फिल्मको छायांकन नेपालमा समेत गरिएको हो ।
फिल्ममा नेपाली अभिनेत्री थिन्ले ल्हामोले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । ट्रेलरमा तेन्जिङ नोर्गेको भूमिकामा गेन्डेन फुन्त्सोक, एडमन्ड हिलारीको भूमिकामा टम हिडल्स्टन तथा ब्रिटिस आरोहण अभियानका नेता जोन हन्टको भूमिकामा विलेम डिफो देखिएका छन् ।
फिल्मले सगरमाथा आरोहणको अभियानसँगै तेन्जिङ नोर्गेको व्यक्तिगत सपना, आध्यात्मिक आस्था र संघर्षलाई समेत कथामा समेटेको छ । फिल्ममा थिन्ले ल्हामोले तेन्जिङकी पत्नी दावा शेर्पाको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरमा दावा र अभियानकी सचिव जिल हेन्डरसनको सहयोगमा तेन्जिङलाई ब्रिटिस आरोहण टोलीमा सहयोगीका रूपमा मात्र नभई आरोहीकै रूपमा सहभागी गराउन गरिएको प्रयासलाई देखाइएको छ ।
सगरमाथा आरोहणको कथासँगै फरक पृष्ठभूमि, वर्ग र व्यक्तिगत महत्वाकांक्षाबीचको द्वन्द्वलाई पनि फिल्मले प्रस्तुत गर्छ । हिमालको उचाइमा पुगेपछि पद, हैसियत र व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर तेन्जिङ र हिलारीबीच विकास हुने पारस्परिक सम्मान र विश्वासलाई फिल्मको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ ।
फिल्मको निर्देशन अस्ट्रेलियन निर्देशक जेनिफर पिडमले गरेकी हुन् । उनले यसअघि सन् २०१५ मा ‘शेर्पा’ नामक वृत्तचित्र निर्देशन गरेकी थिइन्, जुन बाफ्टा अवार्डका लागि समेत मनोनयनमा परेको थियो ।
‘तेन्जिङ’ अक्टोबर ९ देखि हलमा प्रदर्शनमा आउनेछ । हल प्रदर्शनको एक सातापछि फिल्म एप्पल टीभी प्लसमा स्ट्रिमिङ हुने बताइएको छ । त्यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत फिल्म प्रदर्शन हुनेछ ।