काठमाडौं । भदौ १० गते लाङटाङ क्षेत्रमा हिम-चट्टानी पहाड भत्किएर आएको विनाशकारी बाढीको एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा जोखिम पूर्ण रूपमा हटिसकेको छैन।
हिमाली क्षेत्रमा जोखिमसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय विज्ञ सञ्जाल ‘हाइरिस्क’ले लाङटाङको स्रोत क्षेत्रमा अझै अस्थिर चट्टान तथा हिउँको ठूलो भाग बाँकी रहेको जनाएको छ। त्यसैले आगामी दिनमा थप हिम-चट्टान खस्न सक्ने वा त्यसबाट अर्को विपद् निम्तिन सक्ने चेतावनी दिइएको छ।
हाइरिस्कले अगस्ट २८ मा सार्वजनिक गरेको द्रुत जोखिम मूल्यांकनमा भदौ १० को घटनाले सम्भावित अस्थिर हिम–चट्टानी संरचनाको सम्पूर्ण भाग बगाएर नलगेको उल्लेख गरेको छ। थप हिम-चट्टान खसे पनि भदौ १० कै जस्तो ठूलो विपत्ति दोहोरिन्छ भन्ने निश्चित प्रमाण भने नरहेको विज्ञहरूले बताएका छन्। तर नयाँ पहिरो वा हिम-चट्टान खस्दा नदी तथा खोँचमा थप जोखिम सिर्जना हुन सक्ने उनीहरूको भनाइ छ।
नदी किनारमा थुप्रिएको गेग्रान अर्को जोखिम
भदौ १० को तीव्र बहावले नदी आसपासका धेरै भिरालो पाखा काटेर अस्थिर बनाएको छ। नदी र खोँचमा ठूलो मात्रामा माटो, ढुंगा तथा गेग्रान थुप्रिएको हाइरिस्कको मूल्यांकन छ। ठूलो वर्षा भएमा वा माथिल्लो क्षेत्रमा रहेका हिमतालको पानी तीव्र रूपमा बढेर अचानक निकास भएमा ती सामग्री पुनः बग्न सक्ने जोखिम छ।
यसले आगामी केही दिन मात्र नभई केही महिना वा वर्षसम्म पनि लाङटाङ क्षेत्रमा सामान्यभन्दा बढी बाढी तथा पहिरोको जोखिम रहन सक्ने हाइरिस्कले जनाएको छ।
हाइरिस्कको मूल्यांकन आठ जना अनुसन्धानकर्ताले उपलब्ध भूउपग्रह तस्बिर, घटनास्थलका तस्बिर तथा नेपाल सरकारका प्राविधिक विवरणको अध्ययनपछि तयार गरेका हुन्। यद्यपि यो तत्काल गरिएको ‘द्रुत जोखिम मूल्यांकन’ भएकाले यसको निष्कर्षलाई अन्तिम वैज्ञानिक अध्ययनका रूपमा लिन नहुने स्पष्ट पारिएको छ।
चीनको नयाँ ड्रोन निगरानीले पनि जोखिम देखायो
हाइरिस्कको चेतावनीसँगै चीनको पछिल्लो निगरानीले पनि लाङटाङ क्षेत्रमा खतरा अझै बाँकी रहेको देखाएको छ।चीनको जलस्रोत मन्त्रालयले सेप्टेम्बर १ मा ड्रोनबाट खिचिएका तस्बिर विश्लेषण गर्दै नेपालतर्फको मुख्य प्रभावित क्षेत्र आसपासका हिम-चट्टान अझै खस्न सक्ने अवस्थामा रहेको जनाएको छ।
भूउपग्रह तस्बिरमा तल्लो नदीका दुवै किनारमा साना पहिरोसमेत देखिएको चीनले जनाएको छ। ती पहिरो नदीमा खसेर नदी थुनिए नयाँ ताल बन्न सक्ने जोखिम रहेको चिनियाँ पक्षको निष्कर्ष छ। चीनले प्रभावित क्षेत्रमा ११ सदस्यीय जलविज्ञानसम्बन्धी आपतकालीन निगरानी टोलीलाई चार समूहमा परिचालन गरेको छ। टोलीले विभिन्न खोलामा पानीको सतह र बहाव मापन गर्नुका साथै ड्रोनमार्फत पानीको गति, नदीको भू-आकृति तथा सम्भावित जोखिमको निगरानी गरिरहेको छ।
तत्काल ठूलो बाढीको जोखिम भने घटेको संकेत
चिनियाँ जलस्रोत मन्त्रालयले सकारात्मक पक्षका रूपमा मुख्य खाडलमा जम्मा भएको पानी लगभग निस्किसकेको र तल्लो नदी सामान्य रूपमा बगिरहेको जनाएको छ। चीनतर्फ बनेको मुख्य तालको पानीसमेत पूर्ण रूपमा निकास भइसकेकाले त्यसबाट तत्काल ठूलो बाढी आउने जोखिम नियन्त्रणमा आएको चिनियाँ अधिकारीहरूको भनाइ छ। तर पहाडी पाखा अस्थिर हुनु, नयाँ पहिरो खस्नु र नदीमा गेग्रान थुप्रिनुजस्ता जोखिम भने कायमै छन्।
यसको अर्थ भदौ १० गतेकै जस्तो विनाशकारी बाढी तुरुन्तै दोहोरिँदैछ भन्ने होइन। तर भदौ १० अघि जस्तो भूभाग पूर्ण रूपमा स्थिर अवस्थामा फर्किसकेको छैन भन्ने वैज्ञानिक तथा चिनियाँ निगरानीको निष्कर्षले देखाएको छ।
त्यसैले लाङटाङ क्षेत्रको नदी, खोँच तथा जोखिमयुक्त पहाडी क्षेत्रमा आवतजावत र उद्धार तथा पुनर्निर्माणका काम गर्दा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।