काठमाडौं । विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, महँगो मूल्यमा भएका अनुबन्ध र विदेशी स्टारको उपस्थितिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चर्चामा छ। तर प्रतियोगिताको मैदानमा भने विदेशी खेलाडीभन्दा नेपाली खेलाडीको प्रदर्शन बढी प्रभावशाली देखिएको छ।
एनपीएलका सुरुवाती ६ खेलले नेपाली क्रिकेटका लागि उत्साहजनक संकेत दिएका छन्। अहिलेसम्म सम्पन्न सबै ६ खेलमा ‘प्लेयर अफ द म्याच’ नेपाली खेलाडी नै घोषित भएका छन्। यसले नेपाली खेलाडी विदेशी स्टारसँग प्रतिस्पर्धा गर्न मात्र होइन, खेलको नतिजा नै बदल्न सक्ने अवस्थामा पुगेको संकेत गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सका शेर मल्लले सुदूरपश्चिम रोयल्सविरुद्ध ११ रन खर्चेर तीन विकेट लिए। उनको कसिलो बलिङकै कारण सुदूरपश्चिम ८७ रनमा समेटियो। दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किंग्सविरुद्ध चार विकेट लिएर टोलीलाई आठ रनको जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
तेस्रो खेलमा कर्णाली याक्सका युनिश विक्रम सिंह ठकुरीले जनकपुर बोल्ट्सविरुद्ध तीन विकेट लिँदै आफ्नो प्रभाव देखाए। चौथो खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे। उनले ३६ बलमा अविजित ५१ रन बनाउनुका साथै एक विकेटसमेत लिए।
पाँचौँ खेलमा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिए। छैटौँ खेलमा भने कर्णाली याक्सका कप्तान सोमपाल कामीले अविश्वसनीय प्रदर्शन गरे। उनले बलिङमा चार विकेट लिनुका साथै ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाए।
५७ रनमा पाँच विकेट गुमाएर संकटमा परेको कर्णालीलाई सोमपालले सम्हाल्दै विराटनगरले दिएको १८७ रनको लक्ष्य एक बल बाँकी छँदा पूरा गराए। उनले विराटनगरका लोकेश बम, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाजस्ता चर्चित खेलाडीलाई बलिङबाट पवेलियन फर्काएका थिए।
ब्याटिङमा पनि नेपाली खेलाडी अगाडि
बलिङमा नेपाली खेलाडीको दबदबा देखिँदा ब्याटिङमा पनि उनीहरूले विदेशी खेलाडीलाई कडा चुनौती दिइरहेका छन्। प्रतियोगिताका सुरुवाती ६ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगर किंग्सका लोकेश बम शीर्ष स्थानमा छन्।
कर्णाली याक्सविरुद्ध उनले ५२ बलमा तीन चौका र नौ छक्काको मद्दतमा ८७ रन बनाएका थिए। उनको आक्रामक ब्याटिङले विराटनगरलाई १८६ रनको प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको थियो। तर सोमपालको उत्कृष्ट प्रदर्शनका कारण विराटनगरले उक्त खेल जित्न सकेन।
सर्वाधिक रन बनाउने सूचीमा लोकेशपछि सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी ७८ रनसहित दोस्रो स्थानमा छन्। जनकपुरका विदेशी खेलाडी मोइन अली ७७ रनसहित तेस्रो स्थानमा रहँदा कर्णालीका अरिफुल इस्लाम ७५ र पवन सर्राफ ७३ रनसहित शीर्ष पाँचमा छन्।
सुरुवाती ६ खेलमा बनेका पाँच अर्धशतकमध्ये तीन नेपाली खेलाडीले बनाएका छन्। यसले नेपाली ब्याटरमा विकसित हुँदै गएको आक्रामक टी-२० शैलीलाई समेत देखाउँछ।
१६ वर्षीय राहुलको उदय, बलिङमा नयाँ आशा
एनपीएलको सुरुवाती चरणमा अर्को आकर्षण बनेका छन्, जनकपुर बोल्ट्सका १६ वर्षीय राहुल यादव। ट्यालेन्ट हन्टबाट छनोट भएका राहुलले प्रतियोगिताको सुरुवाती ६ खेलपछि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा ६ विकेटसहित शीर्ष स्थान बनाएका छन्।
काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिएका उनले दुवै खेलमा पहिलो बलमै विकेट लिने उपलब्धिसमेत हासिल गरेका छन्। कम उमेरमै अनुभवी तथा विदेशी खेलाडी सम्मिलित ब्याटिङ लाइनअपविरुद्ध प्रभावशाली प्रदर्शन गर्नु नेपाली क्रिकेटका लागि सुखद संकेत हो।
सर्वाधिक विकेट लिने सूचीमा कर्णालीका सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल पाँच–पाँच विकेटसहित राहुलपछि छन्। जनकपुरकै हरमीत सिंह र लुम्बिनीका किशोर महतोले चार-चार विकेट लिएका छन्।
विदेशी स्टारको भीडमा नेपाली खेलाडीको आत्मविश्वास
यस संस्करणको एनपीएलमा डेभिड वार्नर, मोइन अली, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र डेभिड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सहभागी छन्। उनीहरूको उपस्थितिले प्रतियोगिताको आकर्षण र अन्तर्राष्ट्रिय पहिचान बढाएको छ।
तर मैदानमा विदेशी खेलाडीको नाम र अनुभवले मात्रै खेलमा प्रभाव जमाउँदैन भन्ने सन्देश नेपाली खेलाडीले दिइरहेका छन्। सबै खेलका ‘प्लेयर अफ द म्याच’ नेपाली खेलाडी हुनु यसको बलियो उदाहरण हो।
एनपीएलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेटरसँग एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसर मात्र दिएको छैन, आफ्नो क्षमता प्रमाणित गर्ने मञ्चसमेत उपलब्ध गराएको छ। विदेशी खेलाडीबाट अनुभव र सीप सिक्दै उनीहरूलाई नै चुनौती दिन सक्नु नेपाली क्रिकेटको सकारात्मक पक्ष हो।
यद्यपि प्रतियोगिता प्रारम्भिक चरणमै रहेकाले यही प्रदर्शनका आधारमा समग्र निष्कर्ष निकाल्न हतार हुनेछ। आगामी खेलमा पनि नेपाली खेलाडीले यही लय कायम राख्नुपर्ने चुनौती छ।
समग्रमा, एनपीएलको सुरुवाती प्रदर्शनले नेपाली क्रिकेटमा प्रतिभा र सम्भावना दुवै रहेको देखाएको छ। अनुभवी खेलाडीको निरन्तरता र युवा प्रतिभाको उदयले घरेलु क्रिकेटको भविष्यप्रति आशा जगाएको छ।
अहिले विदेशी स्टारको उपस्थितिले एनपीएलको चर्चा बढिरहेको छ, तर मैदानमा नेपाली खेलाडीले देखाएको प्रदर्शनले एउटा स्पष्ट सन्देश दिएको छ-नेपाली खेलाडी अब विदेशीबाट सिक्ने मात्र होइन, उनीहरूलाई चुनौती दिने र खेल जिताउने क्षमतासमेत राख्छन्।