काठमाडौं । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ। प्रेममा रहेका जोडीको भावना समेटिएको गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाको प्रेमिल केमेस्ट्री देखाइएको छ।
एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा अनमोल र प्रिन्सीसँगै फिल्मका निर्देशक भुवन केसी र गरिमा पन्त पनि देखिएका छन्।
विशेष कुरा त के छ भने, भिडियोमा अनमोल र प्रिन्सीलाई भुवन केसी र गरिमा पन्तको युवावस्थाको भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरूको रोमान्टिक प्रस्तुतिले फिल्मको प्रेमकथालाई गीतमार्फत उजागर गरेको छ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ। फिल्मलाई जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह-निर्मातामा छन्।
करिब ३० को दशकको प्रेमकथामा आधारित फिल्मको कथा सामिप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन्। पटकथा तथा संवाद सामिप्यराज र सरिनको रहेको छ।
अनमोल र प्रिन्सीको मुख्य भूमिका रहेको ‘बाटुलो जून’ कात्तिक २६ गते, अर्थात् भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने तयारीमा छ।