काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलघाँटीमा समुद्री बारुदी सुरुङ विस्फोट हुँदा चारवटा तेल ट्याङ्करमा आगलागी भएको इरानले जनाएको छ। अमेरिकाले उक्त जलमार्गबाट बारुदी सुरुङ हटाइसकेको दाबी गरेको एक दिनपछि इरानले यस्तो जानकारी दिएको हो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) का अनुसार पछिल्लो २४ घण्टामा हर्मुज जलघाँटीको दक्षिणी मार्ग हुँदै आवागमन गर्ने क्रममा चारवटा ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएका थिए। तीमध्ये तीनवटा ट्याङ्करमा विस्फोटपछि आगलागी भएको र अर्को ट्याङ्करमा जलघाँटीको पूर्वी क्षेत्रमा आगो लागेको इरानी सेनाले जनाएको छ।
आईआरजीसीका अनुसार सुरुका तीनवटा जहाजले आफ्नो राडार तथा नेभिगेसन प्रणाली बन्द गरेका थिए। साथै, इरानी नौसेनाले दिएको चेतावनीसमेत बेवास्ता गर्दै प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि विस्फोट भएको दाबी गरिएको छ।
यसैबीच, बेलायती सामुद्रिक व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ) ले ओमानको खसाबबाट करिब २५ समुद्री माइल उत्तरपूर्वमा एउटा ट्याङ्करमा आगलागी भएको जानकारी दिएको छ।
केन्द्रका अनुसार बन्दरगाहतर्फबाट आएको एउटा सानो डुङ्गामा सवार व्यक्तिहरूले ट्याङ्करको बाहिरी भागमा दुईवटा विस्फोटक उपकरण जडान गरेका थिए। त्यसपछि जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो। केही घण्टापछि आगो नियन्त्रणमा आएको र चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ।
इरानले पछिल्ला केही सातादेखि हर्मुज क्षेत्रमा जहाजहरू समुद्री बारुदी सुरुङमा ठोक्किएको दाबी गर्दै आएको छ। तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले भने मुख्य पारवहन मार्गमा रहेका सबै बारुदी सुरुङ हटाइसकेको दाबी गरेको छ।
आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी पक्षलाई आफ्नो दाबी स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न चुनौती दिएका छन्।
फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले हर्मुज जलघाँटीमा जहाज आवागमनमाथि कडा प्रतिबन्ध लगाउँदै आएको छ। विश्वभर खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत असर पार्न सक्ने देखिएको छ।
जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाउनुका साथै तेल ट्याङ्करलाई जलघाँटी पार गर्न सहयोग गर्दै आएको छ। सेन्टकमले यसै गर्मीयामदेखि खाडी मुलुकहरूबाट हर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको दाबी गरेको छ।
इरानले ओमानको तट नजिक रहेको दक्षिणी समुद्री मार्गलाई अनधिकृत भन्दै आएको छ। उक्त क्षेत्रमा बारुदी सुरुङ बिछ्याइएको दाबी गर्दै आईआरजीसीले जहाज सञ्चालक तथा चालक दललाई जोखिमबारे सचेत गराएको छ।
हर्मुज जलघाँटीमा बढ्दो सैन्य तनाव र जहाजमाथि भइरहेका आक्रमणका घटनाले विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्गको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यस क्षेत्रमा थप तनाव बढे विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा समेत असर पर्न सक्ने जोखिम छ।