काठमाडौं । रेड पाण्डा (हाब्रे) संरक्षण, सामुदायिक सहभागिता र साहसिक पर्यटन प्रवर्द्धनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रेड पाण्डा म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ।
रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवाको सहकार्यमा हुने प्रतियोगिताले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
यस वर्षको मुख्य आकर्षण ४८ किलोमिटर लामो ट्रेल म्याराथन हुनेछ। सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गुम्बाबाट सुरु हुने दौड पिकेपिक (४,०५४ मिटर) पुगेर पुनः सोही स्थानमा फर्किनेछ। करिब २,८७२ मिटर उकालो रहेको यो ट्रेल अनुभवी धावकका लागि चुनौतीपूर्ण मानिएको छ। निर्धारित ७ घण्टा ३० मिनेटभित्र दौड पूरा गर्ने सहभागीले अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसन (ITRA) का ३ अंक प्राप्त गर्नेछन्।
यससँगै पहिलोपटक ५ किलोमिटरको ‘रेड पाण्डा कम्युनिटी रन’ पनि आयोजना गरिने भएको छ। सबै उमेर र क्षमताका सहभागीलाई लक्षित गरिएको यो दौड स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिनेछ। आयोजकका अनुसार सल्लेरी र पिकेपिक क्षेत्र रेड पाण्डाको प्राकृतिक बासस्थानसँग जोडिएको हिमाली भू-दृश्य भएकाले सहभागीले दौडसँगै संरक्षणको सन्देशलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दायाहाङ राईको पनि सहभागिता रहनेछ। रेड पाण्डा म्याराथनको पहिलो संस्करण सन् २०२४ मा ताप्लेजुङ र दोस्रो संस्करण सन् २०२५ मा इलाममा आयोजना गरिएको थियो। पहिलो दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लासहित भारत र दक्षिण कोरियाका गरी १४० धावक सहभागी भएका थिए।
आयोजकले रेड पाण्डा संरक्षणसँगै तल्लो सगरमाथा क्षेत्रलाई अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न पनि म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।