काठमाडौं । पछिल्लो समय चीनबाट विदेश भ्रमण गर्ने नागरिकको संख्या बढ्दै जाँदा नेपालले चिनियाँ पर्यटक आकर्षित गर्ने अवसर पनि बढेको छ । चीन मामिला विज्ञ दिनेश खनालले चिनियाँ पर्यटकको आगमन बढाउन सके नेपालको पर्यटन क्षेत्रसँगै समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
चीनमा आर्थिक गतिविधि विस्तार हुँदै जाँदा नागरिकको घुमफिर, नयाँ गन्तव्यको खोजी तथा खानपान र संस्कृतिप्रतिको रुचि पनि बढिरहेको विज्ञ खनालको भनाइ छ । यस्तो अवस्थामा नेपालले आफ्नो प्राकृतिक तथा सांस्कृतिक विविधतालाई चिनियाँ बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनको तर्क छ ।
नेपालका हिमाली क्षेत्र, प्राकृतिक दृश्य, मौलिक संस्कृति तथा पोखरालगायतका पर्यटकीय गन्तव्य चिनियाँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ । सामाजिक सञ्जालको विस्तारले पनि नेपालका गन्तव्य, जीवनशैली र सांस्कृतिक पक्षबारे चिनियाँ नागरिकसम्म सूचना पुर्याउन सहज भएको विज्ञ खनाल बताउँछन् ।
नेपालमा पछिल्लो समय भएको ठूलो प्राकृतिक विपद्का क्रममा चीन सरकार र चिनियाँ नागरिकबाट प्राप्त सहयोगले समेत दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ छ । यही सम्बन्धलाई पर्यटनसँग जोड्न सके नेपालका लागि थप अवसर सिर्जना हुन सक्ने देखिन्छ ।
चीनको राष्ट्रिय पर्वका समयमा लामो बिदा हुने भएकाले ठूलो संख्यामा चिनियाँ नागरिक विदेश भ्रमणमा निस्कने गर्छन् । त्यसैले नेपालले यस्ता बिदाको अवधिलाई लक्षित गर्दै विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने खनालको सुझाव छ ।
यसबीच चीनको साङ्घाईबाट चार्टर उडानमार्फत चिनियाँ पर्यटक नेपाल आएका छन् । हिमालयन एयरलाइन्समार्फत आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली परम्पराअनुसार स्वागत गरिएको थियो । नेपालमा पाएको परम्परागत स्वागतले चिनियाँ पर्यटकमा सकारात्मक अनुभूति सिर्जना गरेको खनालले बताएका छन् ।
उनका अनुसार पर्यटक आगमन बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल तथा रेस्टुरेन्ट व्यवसायमा मात्र सीमित हुँदैन । यातायात, हस्तकला, ट्राभल एजेन्सी, मनोरञ्जन तथा अन्य पर्यटनसम्बद्ध व्यवसायमा समेत आर्थिक गतिविधि बढ्नेछ । पर्यटकको संख्या बढेसँगै रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र स्थानीय व्यवसायको विस्तारमा समेत योगदान पुग्न सक्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालका पर्यटकीय तथा आर्थिक सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके विश्व समुदायमा नेपालको पहिचान थप विस्तार हुने विज्ञ खनाल बताउँछन् । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले समेत अन्तर्राष्ट्रियस्तरमा नेपालबारे चासो बढाउन भूमिका खेल्न सक्ने उनको धारणा छ ।
अब नेपालका लागि चुनौती भनेको चिनियाँ पर्यटकको चासोलाई नियमित आगमनमा रूपान्तरण गर्नु हो । त्यसका लागि सहज हवाई पहुँच, प्रभावकारी पर्यटन प्रवर्द्धन, गुणस्तरीय सेवा र चिनियाँ पर्यटक लक्षित विशेष प्याकेजमा ध्यान दिनुपर्ने देखिन्छ ।