काठमाडौं । नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को असाधारण पर्वतारोहण उपलब्धिको अन्तर्राष्ट्रिय स्तरमा पुनः चर्चा हुन थालेको छ। विश्वप्रसिद्ध पर्वतारोही तथा हिमालप्रेमीहरूले सामाजिक सञ्जालमार्फत पुर्जाको योगदानलाई सगरमाथाका पहिलो आरोही सर एडमन्ड हिलारीको ऐतिहासिक योगदानसँग तुलना गर्दै प्रशंसा गरिरहेका छन्।
बेलायती पर्वतारोही तथा हिमाल अभियन्ता ग्यारेथ होम्सले सामाजिक सञ्जाल एक्समार्फत गरेको टिप्पणी पछिल्लो समय चर्चामा आएको छ। उनले दुई फरक युगका पर्वतारोहीले हिमालमा सम्भावनाको सीमालाई फराकिलो बनाएको उल्लेख गर्दै हिलारीले विश्वका अग्ला हिमालतर्फ जाने बाटो खोलेको र निर्मल पुर्जाले मानवीय क्षमताको सीमालाई अझ अघि बढाएको बताएका छन्।
पुर्जाले सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो उपलब्धि पर्वतारोहण इतिहासकै असाधारण उपलब्धिमध्ये एकका रूपमा लिइन्छ।
अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा हिलारी र पुर्जाबीचको तुलना कुनै प्रतिस्पर्धाका रूपमा नभई दुई फरक पुस्ताका असाधारण योगदानप्रतिको सम्मानका रूपमा प्रस्तुत भइरहेको छ। सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको सफल आरोहण गरेपछि विश्वको ध्यान नेपालका हिमालतर्फ तानिएको थियो।
त्यसपछि नेपाली पर्वतारोहीहरूको साहस र क्षमताले हिमाल आरोहणको क्षेत्रमा निरन्तर नयाँ इतिहास बनाउँदै आएको छ। निर्मल पुर्जाको कीर्तिमानी आरोहणले पनि कठिनतम हिमालहरूमा मानवीय क्षमताको नयाँ सम्भावना देखाएको पर्वतारोहण क्षेत्रका जानकारहरूको धारणा छ।
पुर्जाको सफलताले नेपालको पहिचानलाई हिमाल र पर्यटनसँग मात्र सीमित नराखी साहस, दृढता र असम्भवलाई सम्भव बनाउने नेपाली क्षमतासँग समेत जोडेको छ। अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायबाट प्राप्त पछिल्लो सम्मानले नेपाली पर्वतारोहणको विश्वव्यापी प्रतिष्ठालाई थप उचाइ दिएको छ।