काठमाडौं । निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठले एनजिओको लगानीमा न्यायमाथि मजाक भइरहेको टिप्पणी गरेका छन् । शिवराजले बुधबार एक स्टाटस लेख्दै निहारिकाले चर्चामा आउन गलत प्रचारबाजी गरिरहेको टिप्पणीसमेत गरेका हुन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निहारिकाले चर्चामा आउन गलत प्रचारबाजी गरिरहेको शिवराजले दावी गरेका छन् । केही दिनअघि निहारिकाले प्राइम टाइम्स टेलिभिजनमा एक अन्तरवार्ता दिँदै आफूलाई मिल्न दबाव आएको र मिलेमा एक करोड दिने अफर आएको दावी गरेकी थिइन् ।
तर उनको अन्तरवार्ता केवल चर्चामा आउनका लागि मात्रै रहेको भन्दै उनको दावीमा कुनै सत्यता नरहेको शिवराजले बताएका छन् ।
शिवराजले भनेका छन्, ‘पहिलो कुरा, न म र मेरो परिवारले उनीसँग पछिल्लो २ वर्षदेखि कुराकानी नै गरेको छैन न म र मेरो परिवारको एक करोड दिने हैसियत राख्छ । एक करोड त टाढाको कुरा १ लाख पनि दिने हैसियत छैन हामीसँग । यो कुरा सरासर गलत र चर्चामा आउन गरिएको प्रोपोगाण्डा बाहेक अरु केही होइन ।’
आफ्नो स्टाटसमा शिवराजले निहारिकाले भनेको कुरा प्रमाणित गरेर देखाउन समेत चुनौती दिएका छन् । निहारिकालाई यस्तो कुरा गर्न कसले सिकाउँछ र उक्साउँछ भन्दै उनले किन यसो गरिरहेकी छिन् भनेर प्रश्न गरेका छन् ।
शिवराजले आफ्नो स्टाटसमा प्रेम सम्बन्धमा रहेको समयमा उमेर पुगेका युवा र युवतीबीच भएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न मिल्ने हो कि होइन त्यसको व्याख्या अदालतले गर्ने हुँदा त्यसबारेमा केही नबोल्ने बताएका छन् ।
साथै नाबालक र निहारिकाले हक अधिकार पाउने कुरामा कहिल्यै नरोकेको र नरोक्ने तथा आफू आफ्नो जिम्मेवारीबाट च्युत नभएको स्पष्टीकरण दिएका छन् ।
उनले पटकपटक चर्चामा आउनकै लागि आफू नाबालिका हुँदै बलात्कारमा परेको त कहिले लठ्ठाउने औषधी खुवाएको जस्तो झुटा कुरा गरेर मिडियाबाजी गरिरहेको आरोप लगाएका छन् ।