काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको फिल्म ‘आ बाट आमा २’को दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक भएको छ। दसैंको उल्लास र पारिवारिक माहोल समेटिएको गीतको भिडियोमा पल शाह, मलिका महत, विपना थापा र प्रदीप रावतलगायत कलाकार छमछमी नाचेको देख्न सकिन्छ।
फिल्मको टिजर र ‘अचेल किन कान्छी’ गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको अवस्थामा निर्माण पक्षले बिहीबार नयाँ गीत सार्वजनिक गरेको हो। गीतमा परदेशीको पीडा, दसैंको उमङ्ग तथा टीका-जमराको सांस्कृतिक महत्त्वलाई समेटिएको छ।
बाबुल गिरी, रचना रिमाल, रवि ओड र जुनु रिजालको स्वर रहेको गीतमा शब्द तथा संगीत बाबुल गिरीकै छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत र निकिता आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडा र बेगम नेपाली ९भटभटे माइला० लगायतका कलाकारको पनि अभिनय रहेको छ।
दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म हो। त्यस्तै, ‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी छन्।
आमा-छोराको सम्बन्धलाई केन्द्रमा राखेर वैदेशिक रोजगारीको कथा प्रस्तुत गर्ने फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा नवराज उप्रेतीको छायांकन रहेको छ।