काठमाडौं । मलेसियामा कार्यरत नेपालीसहित विदेशी श्रमिकको न्यूनतम तलब सन् २०२७ जुनदेखि मासिक दुई हजार रिंगिट पुग्ने भएको छ। मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर दुई हजार रिंगिट पुर्याउने घोषणा गरेका हुन्।
हाल मलेसियामा श्रमिकको न्यूनतम मासिक तलब एक हजार सात सय रिंगिट रहेको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार न्यूनतम तलब तीन सय रिंगिटले बढ्नेछ। दुई हजार रिंगिटको नेपाली रुपैयाँमा मूल्य विनिमय दरअनुसार करिब ७५ हजार रुपैयाँभन्दा बढी हुन्छ।
मलेसिया सरकारले तलब वृद्धिको निर्णयबाट ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने जनाएको छ। यस निर्णयले मलेसियामा कार्यरत नेपाली श्रमिकको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री इब्राहिमका अनुसार दक्ष कामदारको न्यूनतम पारिश्रमिक भने मासिक दुई हजार पाँच सय रिंगिट पुर्याउने योजना छ। श्रमिकको योग्यता, सीप र दक्षताअनुसार पारिश्रमिकमा सुधार गर्ने सरकारी नीतिअन्तर्गत तलब वृद्धि गर्न लागिएको उनले बताएका छन्।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। त्यहाँ उत्पादन, निर्माण, सेवा तथा विभिन्न औद्योगिक क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन्। न्यूनतम तलब वृद्धिसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि तोकिएको न्यूनतम पारिश्रमिक पाउने श्रमिकको आम्दानी बढ्नेछ।
यद्यपि, वास्तविक आम्दानीमा वृद्धि श्रमिकको रोजगार सम्झौता, कामको प्रकृति र लागू हुने पारिश्रमिकसम्बन्धी नियममा निर्भर रहनेछ।