काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेनाले गरेको बम आक्रमणमा ३० जनाको मृत्यु भएको छ। पूर्वी सहर क्रामतोस्र्कमा यात्रुवाहक दुई बसलाई लक्षित गरी ग्लाइड बम आक्रमण हुँदा उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार क्रामतोस्र्क क्षेत्रकै बिलेन्के गाउँमा भएको अर्को आक्रमणमा तीन जनाको मृत्यु भएको छ। विभिन्न स्थानमा भएका आक्रमणमा १८ जना घाइते भएको डोनेट्स्क क्षेत्रीय प्रमुख वादिम फिलास्किनले बताएका छन्।
फिलास्किनले रुसी सेनाले सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाएका छन्। यद्यपि, आक्रमणको उद्देश्यबारे रुसले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। क्रामतोस्र्क र छिमेकी सहर स्लोभ्यान्स्क युक्रेनको पूर्वी डोनबास क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण ‘किल्ला क्षेत्र’मा पर्छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको सम्पूर्ण औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको कडा जवाफ दिनुपर्ने बताएका छन्। उनले रुसले डोनबास क्षेत्रमा जनजीवन ध्वस्त पार्न खोजेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई घटनाप्रति प्रतिक्रिया जनाउन आग्रह गरेका छन्। स्थानीय अभियोजकहरूले सार्वजनिक गरेका तस्बिरमा आक्रमणपछि जलेका बसका अवशेष, भग्नावशेष र सडकमा शवहरू देखिएका छन्।
यसअघि बुधबार बिहान युक्रेनको राजधानी किभको पूर्वमा रहेको प्रिलुकीमा पाँचतले आवासीय भवन ध्वस्त हुने गरी भएको आक्रमणमा पाँच बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो। मृतक बालबालिकामध्ये तीन जना एक वर्षका रहेको जनाइएको छ।
युक्रेनमा रुसी आक्रमण तीव्र बन्दै जाँदा सर्वसाधारणको ज्यान जाने क्रम बढिरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ भरि मारिएका नागरिकको संख्याभन्दा सन् २०२६ को अगस्टसम्ममै बढी सर्वसाधारण मारिइसकेका थिए।