काठमाडौं । अमेरिकाले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को उपाधि जितेको छ। नामिबियालाई ४ विकेटले पराजित गर्दै अमेरिका दुई खेल अगावै च्याम्पियन बनेको हो। डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा अमेरिकाले नामिबियाले दिएको २ सय ९९ रनको लक्ष्य ७ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।
अमेरिकाको जितमा कप्तान मोनांक पटेल नायक बने। उनले १ सय ८ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। त्यस्तै, स्मित पटेलले ५० र शेहान जयसूर्याले ७४ रनको योगदान दिएपछि अमेरिका कठिन लक्ष्य पछ्याउन सफल भयो।
यस जितसँगै अमेरिका ४७ अंक जोड्दै लिग-२ को अंकतालिकाको शीर्ष स्थानमा कायम रहेको छ। प्रतियोगितामा दुई खेल खेल्न बाँकी छँदै अमेरिकाले उपाधि पक्का गरेको हो। अब लिग-२ मा सहभागी अन्य टोलीले बाँकी खेल जिते पनि अमेरिकालाई अंकतालिकामा भेट्टाउन सक्ने छैनन्।
अमेरिकाले यसअघि नै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। लिग-२ को उपाधिले आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकपसम्म पुग्ने उसको सम्भावनालाई थप बलियो बनाएको छ।
यसअघि टसपछि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो। ओपनर माइकल भान लिङ्गेनले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। उनले लोरेन स्टेन्क्याम्पसँग शतकीय साझेदारी गर्नुका साथै कप्तान जेरार्ड इरास्मससँग पनि महत्वपूर्ण साझेदारी गरे।
स्टेन्क्याम्पले ३० रन बनाउँदा कप्तान इरास्मसले ७६ रनको योगदान दिए। भान लिङ्गेनको आक्रामक प्रदर्शनले नामिबियालाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए पनि कप्तान मोनांक पटेलको शतकीय इनिङ्ससामु उसको प्रयास सफल हुन सकेन।
उता, लिग-२ अन्तर्गत नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक शृंखला शुक्रबार अर्थात् अक्टोबर ९ देखि ओमानमा सुरु हुँदैछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि भने यो शृंखला निकै महत्वपूर्ण रहनेछ।
लिग-२ को अंकतालिकामा आफ्नो स्थिति सुधार गर्नुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने चुनौती नेपालसामु छ। त्यसैले ओमानमा हुने खेलमा नेपालले कस्तो प्रदर्शन गर्छ भन्ने विषय नेपाली क्रिकेट समर्थकका लागि चासोको केन्द्र बनेको छ।