काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेका दुई नेपाली फिल्ममध्ये ‘अक्षरा’ मात्रै हलमा आएको छ। नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को प्रदर्शन भने अन्तिम समयमा स्थगित गरिएको छ।
नेपाल र भुटानमा एकसाथ प्रदर्शन गर्ने तयारीसहित बिहीबार फिल्मको ग्रान्ड प्रिमियरसमेत गरिएको थियो। तर, प्रदर्शनको पूर्वसन्ध्यामा निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज स्थगित गर्ने निर्णय सार्वजनिक गरेको हो।
निर्माण टिमका अनुसार प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै फिल्मलाई नेपाल र भुटानमा मात्रै सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरिएको छ। फिल्मलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विभिन्न देशमा एकसाथ प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ।
विश्वव्यापी प्रदर्शनका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। यद्यपि, फिल्मको नयाँ रिलिज मिति भने हालसम्म तय गरिएको छैन।
‘टनेल २६’को प्रदर्शन स्थगित भएसँगै यो शुक्रबार नेपाली हलमा नयाँ रिलिजका रूपमा ‘अक्षरा’ मात्रै प्रदर्शनमा आएको छ।
विनय राज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’ सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म हो। महिलाको पहिचान, सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक चुनौतीलाई कथाको केन्द्रमा राखिएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत र रिस्ता बस्नेतलगायत कलाकारको अभिनय रहेको छ।
ड्रामा विधामा निर्माण भएको फिल्म ‘अक्षरा’को रनटाइम १३४ मिनेट रहेको छ।