काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो पुनः निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ। आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा उनलाई चुनौती दिन सक्ने सम्भावित उम्मेदवारहरूबारे अन्योल बढेसँगै इन्फान्टिनोको पुनर्निर्वाचनको सम्भावना बलियो देखिएको हो।
इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धी मानिएका क्यानडाका ६१ वर्षीय भिक्टर मोन्टाग्लियानी उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) को अध्यक्षमा अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। उनले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा भने गरेका थिएनन्। पछिल्लो तयारीले उनी फिफा अध्यक्षको दौडबाट बाहिरिन सक्ने संकेत गरेको छ।
विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने इन्फान्टिनोको योजनाप्रति आलोचना बढेपछि मोन्टाग्लियानीलाई सम्भावित चुनौतीका रूपमा हेरिएको थियो। तर उक्त योजना व्यापक विरोधपछि फिर्ता लिइएपछि फिफा अध्यक्षको निर्वाचनमा नयाँ समीकरण बन्ने देखिएको छ।
५६ वर्षीय इन्फान्टिनो चौथो कार्यकालका लागि अध्यक्ष बन्ने प्रयासमा छन्। उनलाई चुनौती दिन युरोपेली फुटबल महासंघ ९यूईएफए० भित्रका असन्तुष्ट पक्षले साझा उम्मेदवार खोजिरहेको विवरणमा उल्लेख छ। निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम म्याद नोभेम्बर १८ तोकिएको छ।
यसैबीच, यूईएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले पनि चौथो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। स्लोभेनियाका ५८ वर्षीय सेफेरिनले बर्लिनमा आयोजित यूईएफएका ५५ सदस्य राष्ट्रका प्रमुखहरूको बैठकमा आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
सेफेरिन सन् २०१६ मा पहिलोपटक यूईएफए अध्यक्ष निर्वाचित भएका थिए। उनले सन् २०२४ को फेब्रुअरीमा पुनः अध्यक्ष नबन्ने बताएका थिए। तर संस्थाको विधान संशोधनपछि चौथो कार्यकालका लागि पनि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था बनेसँगै उनको उम्मेदवारीको बाटो खुलेको हो।
यूईएफएले फिफाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विश्व फुटबलको सर्वोच्च निकायमा सुधार गर्न १४ बुँदे प्रस्तावसमेत सार्वजनिक गरेको छ। यद्यपि, सेफेरिनले आफू फिफा अध्यक्षमा इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेका छन्। उनले आगामी निर्वाचनका लागि विभिन्न पक्षलाई एकताबद्ध गर्न सक्ने साझा उम्मेदवार खोज्ने प्रयासलाई समर्थन गर्ने बताएका छन्।
मोन्टाग्लियानीको पछिल्लो तयारी र सेफेरिनको निर्णयले फिफा अध्यक्षको निर्वाचनमा इन्फान्टिनोलाई चुनौती दिने उम्मेदवार को बन्ला भन्ने प्रश्नलाई थप महत्त्वपूर्ण बनाएको छ। यद्यपि, निर्वाचनको अन्तिम नतिजा उम्मेदवारी दर्ता र सदस्य राष्ट्रहरूको मतदानपछि मात्रै स्पष्ट हुनेछ।