काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरले जीवन, मृत्यु र सम्पत्तिबारे विगतमा व्यक्त गरेका विचार अहिले फेरि चर्चामा आएका छन्। सादा जीवनशैली र स्पष्ट अभिव्यक्तिका लागि परिचित पाटेकरले सन् २०२३ मा दिएको एक अन्तर्वार्तामा आफ्नो मृत्युपछि गरिने अन्त्येष्टि र आफूलाई सम्झिने विषयमा खुलेर कुरा गरेका थिए।
अन्तर्वार्तामा उनले आफूलाई जलाउन आवश्यक पर्ने सुक्खा काठलाई नै आफ्नो सम्पत्ति भन्दै जीवनको क्षणभङ्गुरताबारे व्यङ्ग्यात्मक शैलीमा धारणा राखेका थिए। ‘मलाई थाहा छ, एक दिन मर्नुपर्छ। मलाई मृत्युमा विश्वास छ,’ उनले भनेका थिए, ‘मानिसहरू आफू कहिल्यै मर्दिनँ भन्ने सोचेर सम्पत्ति जम्मा गरिरहन्छन्।’
चलचित्र क्षेत्रमा लामो समय बिताउँदा पनि आफूमा देखावटीपन र ग्ल्यामरको प्रभाव किन नपरेको भन्ने प्रश्नमा उनले जीवनको अन्तिम सत्य मृत्युलाई औँल्याएका थिए। ‘मलाई जलाउन १२ मन काठ चाहिन्छ। त्यही नै मेरो सम्पत्ति हो। म त्यसैसँग जानेछु,’ उनले भनेका थिए।
‘भिजेको काठ होइन, सुक्खा काठमा जलाउनू’
पाटेकरले अन्त्येष्टिका लागि सुक्खा काठ प्रयोग गर्न परिवारलाई भनेको पनि अन्तर्वार्तामा बताएका थिए। उनले भिजेको काठ जल्दा धुवाँ निस्कने र त्यसले वरपरका मानिसको आँखामा असर गर्ने भन्दै ठट्यौली शैलीमा आफ्नो इच्छा व्यक्त गरेका थिए।
‘मलाई सुक्खा काठमा जलाउनु। भिजेको काठ प्रयोग नगर्नू। त्यसबाट धुवाँ निस्कन्छ र साथीभाइ तथा वरपरका मानिसका आँखामा पर्छ,’ उनको भनाइ थियो।
त्यसपछि उनले आफ्नो स्वभावअनुसार व्यङ्ग्य गर्दै भनेका थिए, ‘धुवाँले उनीहरूको आँखाबाट आँसु आउला। अनि म मर्दा उनीहरू मेरा लागि रोइरहेका छन् भन्ने भ्रम पर्न सक्छ।’ गम्भीर विषयलाई समेत व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने उनको यही स्वभावले उक्त अभिव्यक्तिलाई थप चर्चित बनाएको थियो।
‘मरेपछि मेरो तस्बिर पनि नराख्नु’
पाटेकरले आफू बितेपछि आफ्नो तस्बिर राखेर सम्झिरहन आवश्यक नभएको धारणा पनि व्यक्त गरेका थिए। मानिसको मृत्यु भएपछि केही समयसम्म मात्रै सम्झिने र त्यसपछि बिस्तारै बिर्सने उनको बुझाइ थियो।
‘तपाईं मरेपछि कसैले तपाईंलाई सम्झिरहँदैन। दुई-चार दिनपछि सबैले बिर्सन्छन्,’ उनले भनेका थिए। उनले परिवारका सदस्यलाई आफू बितेपछि आफ्नो तस्बिरसमेत नराख्न आग्रह गरेको बताएका थिए।
‘मैले त मेरी तस्बिर पनि नराख्नु भनेको छु। मलाई पूर्ण रूपमा बिर्सिदिनू,’ उनको भनाइ थियो। उनको यो अभिव्यक्तिले प्रसिद्धि, स्मृति र मानवीय जीवनको वास्तविकताबारे उनको व्यक्तिगत दृष्टिकोणलाई उजागर गर्छ।
प्रियजनको सम्झनाले जोडिएको मृत्युको बुझाइ
अन्तर्वार्तामा पाटेकरले आफ्नी आमा, बुबा तथा दाजुभाइ र दिदीबहिनीको सम्झनाबारे पनि कुरा गरेका थिए। उनले आफ्ना परिवारका धेरै सदस्यको मृत्यु भइसकेको र उनीहरूलाई सम्झँदा अझै पनि आफू भावनात्मक रूपमा जोडिएको महसुस हुने बताएका थिए।
‘आज पनि मलाई मेरी आमा जीवितै हुनुहुन्छ जस्तो लाग्छ। मृत्यु भनेको यहाँबाट गएपछि उहाँलाई भेट्न जानु हो,’ उनले भनेका थिए। उनका अनुसार सात दाजुभाइ तथा दिदीबहिनीमध्ये उनी मात्रै जीवित बाँकी थिए। परिवारका सदस्यहरूको निधनपछि यो संसार पहिलेको जस्तो नलाग्ने गरेको उनको भनाइ थियो।
‘आमा, बुबा, दाजुभाइ, दिदीबहिनी कोही पनि यहाँ छैनन्। त्यसैले मलाई यो संसार आफ्नो जस्तो लाग्दैन। मेरा सबै प्रियजन त्यहीँ छन् भन्ने सोचिरहन्छु,’ उनले बताएका थिए।
पाटेकरका यी अभिव्यक्तिले जीवन र मृत्युप्रतिको उनको व्यक्तिगत सोच, परिवारप्रतिको भावनात्मक सम्बन्ध र भौतिक सम्पत्तिप्रतिको अनासक्तिलाई झल्काउँछन्।