काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकम्वासी समस्या समाधान गर्ने कुरा एमालेले नै उठाएकाले त्यसको समाधान आफूरुले नै गर्ने बताएका छन् । नेकपा एमाले डोटीले शनिवार आज दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एमालेको ४१ महिने कार्यकालमा सडक, विद्युत्, विमानस्थललदेखि थुप्रै विकासका कामहरु भएकाले एमाले देश विकासका लागि सधैँ अग्रपङ्तिमा रहेको दाबी पनि उनले गरे। कार्यक्रमको अन्त्यमा उनले ओलीले सबै राजनैतिक दल, नेता तथा कार्यकर्ताहरुले विना पूर्वाग्रह राष्ट्र निर्माणको काममा लाग्नुपर्ने बताएका छन् ।
यस्तै ओलीले सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गरेरै छाड्ने बताएका छन् । उनले पश्चिम सेती परियोजना विभिन्न राजनैतिक कारणले बन्न नसके पनि अब बन्ने एमालेको सरकारले त्यो निर्माण गरेरै छोड्ने दाबी गरे ।
उनले भने, “पश्चिम सेती निर्माणका विषयमा एमाले सधैँ सकारात्मक छ, हामी उक्त जलविद्युत् आयोजना निर्माण गरेर छोड्छौँ ।”
यस्तै ओलीले डोटीको सिलगढीमा रहेका विद्यालयमा विभिन्न विषयका प्राविधिक विषयहरुको पढाइ सुरु गरिने बताए। त्यसैगरी उनले दुई वर्ष भित्रमा सबै बालबालिकालाई विद्यालय पुर्याउने एमालेको लक्ष रहेकाले बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए।
त्यसैगरी उनले पूर्व पश्चिम हुलाकी राजमार्ग र महाकाली करिडोर पनि एमालेले नै बनाएकाले मदन भण्डारी राजमार्गको सुरुवात पनि एमालेले नै गरेको र लगभग त्यस कामको अन्त्य हुने अवस्थामा रहेको उनको भनाइ थियो । त्यसैगरी पुष्पलाल मध्यपहाडी राजमार्गको सुरुवात एमालेले नै गरेको र त्यसको निर्माण कार्य लगभग सकिएको उनले जिकिर गरे ।