नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो।
भ्रमण वर्ष २०२० काे कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रमण वर्ष महाअभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । उनले हाम्रा अमूल्य स्रोत र प्रचुर सम्भावहरु रहेको हुँदा यसको समुचित सदुपयोग गर्दै यो भ्रमण वर्ष राष्ट्रिय महाअभियानलाई सफल पार्न एकजुट भएर लाग्नुपर्ने बताइन् ।
उनले विदेशी पर्यटकको स्वागत र सत्कारमा जुट्न पर्यटन व्यवसायी तथा सम्बन्धित निकायलाई आग्रह गरिन् । उनले प्रकृतिको विनाश नगरी पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निभाउन समेत आग्रह गरिन् ।
‘अब नेपालले पर्यटन क्षेत्रमा योजनावद्ध कार्यक्रम नल्याए समस्या हुन्छ’, उनले भनिन् ‘भ्रमण वर्षको लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्नेछ। चितवन, लुम्बिनी र अन्नपूर्ण सर्किटसहतिमा पर्यटकले धेरै चासो दिएका छन्।’उनले अतिथिलाई देवतासमान मान्ने नेपालको संस्कृति बचाइराख्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले नेपाल सहासिक पर्यटनको केन्द्र बन्न सक्ने पनि उल्लेख गरिन्।
उनले अब हामीले प्रकृतिलाई बिगारेर, मारेर होइन, सिंगारेर, साँचेर पर्यटन अभियान चलाउपर्ने बताइन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए ।
समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थित भएका छन् ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्तान विन्दुका रुपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । “पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान विन्दु मान्नेछौँ । २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ”, उनले भने ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त लागिपरेका छन्। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।