काठमाडौं । फ्रान्समा फेरि एकपटक ठूलो प्रदर्शनको तयारी हुँदै गर्दा सम्भावित हिंसा र तोडफोड रोक्न सरकारले देशभर ७० हजार प्रहरी परिचालन गरेको छ।
महँगी, सार्वजनिक सेवाको कमजोर अवस्था र राष्ट्रपति इम्यानुएल म्याक्रों नेतृत्वको सरकारप्रति बढ्दो असन्तुष्टिका बीच शनिबार देशव्यापी प्रदर्शन हुन लागेको हो।
हेलोविनकै दिन हुन लागेको प्रदर्शनलाई फ्रान्सेली अधिकारीहरूले अत्यन्त उच्च जोखिमका रूपमा लिएका छन्। दुई साताअघि विभिन्न सहरमा भएको हिंसा, लुटपाट र तोडफोड दोहोरिन सक्ने आशंकापछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
यसअघि प्रदर्शनका क्रममा पसल, सार्वजनिक भवन तथा व्यवसायिक क्षेत्रमा तोडफोड भएको थियो। सुरक्षाकर्मीसमेत हिंसाको निशानामा परेका थिए।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले कुनै पनि प्रकारको अशान्ति हुन नदिन सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। आवश्यक परे अनुहार छोपेर प्रदर्शन गर्नेमाथि समेत कडाइ गर्न सकिने चेतावनी दिइएको छ।
हेलोविनका बेला मास्कको प्रयोग गरेर प्रदर्शनकारीले आफ्नो पहिचान लुकाउन सक्ने आशंका पनि अधिकारीहरूको छ।
फ्रान्समा पछिल्ला प्रदर्शनहरू महँगी, सार्वजनिक सेवाको अवस्था, शिक्षा क्षेत्र र जीवनयापनको बढ्दो खर्चलाई केन्द्रमा राखेर चर्किँदै आएका छन्। विद्यालयको जीर्ण अवस्था, कक्षाकोठामा बढ्दो चाप तथा विश्वविद्यालय भर्ना प्रणालीप्रति असन्तुष्ट विद्यार्थीसमेत आन्दोलनमा जोडिएका छन्।
ट्रेड युनियन र ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकहरू पनि पुनः सडकमा सक्रिय हुन थालेका छन्।
सरकारले शिक्षा क्षेत्रमा सुधार र इन्धन खर्च घटाउने आश्वासन दिए पनि जनताको असन्तुष्टि भने अझै मत्थर हुन सकेको छैन।
सन् २०२७ को बजेटलाई लिएर सुरु भएको बहससँगै फ्रान्सको बढ्दो सार्वजनिक ऋण र सरकारी खर्च कटौतीको दबाबले म्याक्रों सरकारलाई थप चुनौती दिएको छ।
फ्रान्सको पछिल्लो राजनीतिक र सामाजिक अशान्तिले राष्ट्रपति म्याक्रोंमाथि दबाब बढाइरहेका बेला यसको प्रभाव युरोपका अन्य देशमा समेत देखिन थालेको छ। जर्मनीका ३० भन्दा बढी सहरमा पनि युवाहरूको नेतृत्वमा प्रदर्शनको तयारी भइरहेको बताइएको छ।
अब सबैको चासो एउटै छ-७० हजार प्रहरी परिचालन गरिएको फ्रान्समा प्रदर्शन शान्तिपूर्ण रहला, वा फेरि सडक हिंसा र तोडफोडको केन्द्र बन्नेछ ?