काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । त्यसमा फिल्म तथा संगीत क्षेत्रका पनि व्यक्तिहरू समावेश छन् । स्वरसम्राट् नारायण गोपाललाई महाउज्ज्वल राष्ट्रदीप पदकबाट विभूषित गरिँदैछ । संगीतकार भक्तराज आचार्य, अभिनेत्री गौरी मल्ल, गीतकार कालीप्रसाद रिजाल, संगीतकर्मी चिन्तामणि योगी, स्वर्गीय गायिका रानुदेवी अधिकारीलाई भने सुप्रबल जनसेवाश्रीबाट सम्मानित गरिनेछ । शम्भुजित बाँस्कोटा भने कीर्तिमय राष्ट्रदीप पाउने सूचीमा छन् ।
त्यस्तै, प्रबल जनसेवाश्री पाउनेहरूमा कलाकार रमेश बुढाथोकी, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका विष्णु माझी, गायिका देविका प्रधान, कलाकार नवल खड्का, कलाकार प्रकाश घिमिरे र गायक तथा संगीतकार कस्तुप पन्त रहेका छन् ।
जनसेवाश्री पाउने कलाकारको सूची भने लामो छ । जसमा अभिनेत्री केकी अधिकारी, गायक प्रकाश सपुत, अभिनेता अनमोल केसी, गायक हेमन्त शर्मा, हास्य कलाकार कमल गाउँले, फिल्म निर्देशक मिलन चाम्स, गायक नवीन पौडेल, कलाकार सुजल बम, नृत्यकार तेरिया फैजा मगर, हास्य कलाकार शिव शंकर रिजाल, फिल्मकर्मी राजकुमार राई, कलाकार रञ्जु झा र गायिका राधिका हमाल छन् ।