काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने तयारीमा जुटेका छन्।
सांसद, मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको आग्रहपछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी हुन न्युयोर्क जाने तयारी गरेको उच्च स्रोतले जनाएको छ। प्रधानमन्त्रीको भ्रमण छोटो हुने र प्रतिनिधिमण्डलसमेत सानो बनाउने तयारी भइरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
यसअघि सरकारले भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभामा पठाउने निर्णय गरेको थियो। तर, भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि नेपालको पछिल्लो अवस्था र विपद्को प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रत्यक्ष जानकारी गराउन प्रधानमन्त्री आफैं महासभामा सहभागी हुनुपर्ने दबाब बढेको थियो।
संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्र भदौ २२ गतेदेखि सुरु हुँदैछ। महासभाको उच्चस्तरीय बहस भने असोज ६ गतेदेखि सुरु हुने कार्यक्रम छ। प्रधानमन्त्री शाह महासभामा सहभागी भएमा चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था, विपद्पछिको पुनःस्थापना तथा राहत-उद्धारका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ। विशेषगरी भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिपछि नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन भ्रमण महत्वपूर्ण हुन सक्ने देखिएको छ।
प्रधानमन्त्रीको भ्रमणको अन्तिम तयारी, प्रतिनिधिमण्डलको संरचना र औपचारिक कार्यतालिकाबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।