काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप मानिसहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनासँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी पनि सुरुङभित्र प्रवेश गरेका छन्।
जमिनमुनि रहेको आयोजनाको विद्युत् गृहमा फसेका मानिसहरू बसेका हुनसक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिकहरू नेपाली सेनाको उद्धार टोलीसँगै सुरुङभित्र प्रवेश गरेका हुन्। लामो समयदेखि हिलो र पानीले प्रभावित सुरुङभित्र खोजी तथा उद्धार कार्य जोखिमपूर्ण बने पनि सम्भावित जीवित व्यक्तिसम्म पुग्ने प्रयास जारी छ।
निरन्तर नौ दिनसम्मको प्रयासपछि शुक्रबार बिहान सुरुङबाट दुई जनालाई जीवितै उद्धार गर्न उद्धार टोली सफल भएको थियो। बाढीपछि हिलोले भरिएको सुरुङमा करिब १० दिन बिताएका उनीहरूलाई जीवितै बाहिर निकालिनुलाई उद्धार अभियानको महत्वपूर्ण सफलता मानिएको छ। उद्धारका क्रममा सुरुङभित्रबाट एउटा शवसमेत निकालिएको छ। शवको पहिचान भने हुन बाँकी रहेको आयोजनाले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृहमा अझै ठूलो संख्यामा मानिसहरू फसेको हुनसक्ने अनुमान गरिएको छ। आयोजनामा कार्यरत करिब ४२ जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फसेको हुनसक्ने प्राधिकरणको अनुमान छ। तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको हुनसक्ने भएकाले उनीहरू बसेका सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिकलाई उद्धार टोलीसँगै परिचालन गरिएको हो।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार जीवितै उद्धार गरिएका दुई जनाको नेपाली सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ। उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबिर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली परिचालित छ। सुरुङभित्रको भौगोलिक अवस्था, हिलो, पानी र सीमित पहुँचका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण भए पनि सम्भावित जीवित व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राखिएको छ।
दुई जनालाई १० दिनपछि जीवितै उद्धार गर्न सकिएको घटनाले सुरुङभित्र अझै मानिसहरू जीवित हुनसक्ने आशा बलियो बनाएको छ। त्यसैले उद्धार टोलीले प्राविधिक सहयोग र उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गर्दै भूमिगत विद्युत् गृह तथा सुरुङका सम्भावित सबै क्षेत्रमा खोजीलाई तीव्रता दिएको छ।
अबको मुख्य चुनौती भनेको सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको वास्तविक अवस्था पत्ता लगाउनु र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हो। दुई जनाको जीवित उद्धारले आशा जगाएसँगै उद्धारकर्तामाथि बाँकी सम्भावित जीवन बचाउने ठूलो जिम्मेवारीसमेत थपिएको छ।