काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अष्ट्रेलियाली सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो। साथै, विपद्को मानवीय अवस्थाको मूल्यांकन तथा राहत व्यवस्थापनमा सहयोग गर्न तीन जना मानवीय सहायता विशेषज्ञको टोली आगामी ४८ घण्टाभित्र नेपाल पठाउने तयारी गरेको छ।
अष्ट्रेलियाली सरकारका अनुसार रसुवा बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको अवस्था पत्ता लगाउन तथा आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेका छन्।
नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका सदस्य तथा क्षेत्रीय कन्सुलर अधिकारीलाई काठमाडौंमा परिचालन गरिएको छ। थप कर्मचारी तथा संकट प्रतिकार्य टोलीका सदस्यलाई समेत परिचालन गर्ने तयारी भइरहेको अष्ट्रेलियाले जनाएको छ।
कहाँ खर्च हुनेछ ५० लाख डलर ?
अष्ट्रेलियाले घोषणा गरेको सहायता रकम स्थापित साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सेवामा खर्च गरिने जनाएको छ। सहायतामध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) लाई उपलब्ध गराइनेछ। उक्त रकमबाट प्रभावित क्षेत्रमा खाद्यान्न तथा आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराइनेछ।
त्यस्तै, २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइनेछ। यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ। बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिने अष्ट्रेलियाले जनाएको छ।
बाढीका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेकाले प्रभावित धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट अलग रहेको अष्ट्रेलियाको भनाइ छ। दुर्गम क्षेत्रमा राहत तथा उद्धार पुर्याउन कठिनाइ भइरहेका बेला तत्काल मानवीय सहायता आवश्यक रहेको भन्दै अष्ट्रेलियाले नेपाललाई सहयोगको घोषणा गरेको हो।
यससँगै रसुवा बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने मानवीय सहयोगमा अष्ट्रेलियाको योगदान पनि थपिएको छ।