काठमाडौं । तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘अक्षरा’ को ट्रेलर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तु र मुख्य पात्रको संघर्षलाई केन्द्रमा राखेको छ।
ट्रेलरमा अभिनेत्री न्यान्सी खड्कालाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। परिवारको दबाबमा धनाढ्य परिवारका युवकसँग विवाह गर्न बाध्य भएकी उनको पात्रले विवाहपछि श्रीमान्बाट शारीरिक तथा मानसिक हिंसा खेप्नुपरेको देखाइएको छ।
सुरुवाती दृश्यमा न्यान्सीको पात्रलाई घरेलु हिंसाबाट पीडित, कमजोर र निरीह महिलाका रूपमा देखाइएको छ। तर हिंसा र यातना सहन नसक्ने अवस्थामा पुगेपछि उनको चरित्रले अप्रत्याशित रूप लिन्छ। ट्रेलरको पछिल्लो भागमा उनी माता दुर्गाको रौद्र रूपझैँ उग्र बन्दै हिंसाविरुद्ध प्रतिकारमा उत्रिएको देखिन्छ।
न्यान्सीको पात्र सामान्य महिलाजस्तो देखिए पनि उनीसँग कुनै विशेष किसिमको तालिम वा सीप रहेको संकेत ट्रेलरले गरेको छ। यसले फिल्मको कथामा नयाँ मोड आउने संकेत गर्छ। साथै, ट्रेलर हेर्दा फिल्मको सम्पूर्ण कथा न्यान्सीको चरित्र वरिपरि घुम्ने देखिन्छ। फिल्ममा न्यान्सीसँगै रिस्ता बस्नेत, सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना र त्रिलोचन न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।
‘अक्षरा’ विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्म हो। सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन्।फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने अभिमन्यु निरवी र विनयराज पौडेलले पटकथा तथा संवाद तयार गरेका छन्। कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको फिल्मले घरेलु हिंसा, महिलामाथिको दमन र त्यसविरुद्धको प्रतिरोधलाई कथाको मुख्य आधार बनाएको छ।
ट्रेलरमा देखाइएको न्यान्सीको चरित्रको रूपान्तरणले ‘अक्षरा’लाई घरेलु हिंसाको पीडा मात्र प्रस्तुत गर्ने फिल्म नभई त्यसविरुद्धको प्रतिकार र बदलाको कथा बन्ने संकेत गरेको छ। अब भदौ २६ गतेदेखि दर्शकमाझ आउने फिल्मले ट्रेलरमा देखाइएको यो कथालाई पर्दामा कति प्रभावकारी रूपमा प्रस्तुत गर्छ भन्ने चासोको विषय बनेको छ।