काठमाडौं । प्रिमियर लिगको नयाँ सिजनका लागि खेलाडी किनबेचको समयसीमा सकिएसँगै अब नयाँ अनुबन्धित खेलाडीको मैदानमा प्रभाव देखाउने समय सुरु भएको छ। प्रिमियर लिगको इतिहासमा थुप्रै स्थानान्तरण सफल र असफल भए पनि केही खेलाडीको आगमनले उनीहरूको क्लबको मात्र नभई पूरै प्रतियोगिताको शक्ति सन्तुलन परिवर्तन गरेको छ।
बीबीसीले प्रिमियर लिग इतिहासका यस्तै प्रभावशाली १० स्थानान्तरणलाई सूचीबद्ध गरेको छ। सूचीमा सस्तो मूल्यमा अनुबन्ध भएर क्लबलाई ऐतिहासिक सफलता दिलाएका खेलाडीदेखि महँगो रकममा आएका तर अपेक्षाअनुसार प्रभाव पार्न सफल भएका स्टारसम्म समेटिएका छन्।
१०औँ स्थानमा चेल्सी पुगेका गोलकिपर पिटर चेक छन्। सन् २००४ मा रेनेसबाट ७ मिलियन पाउन्डमा चेल्सी पुगेका चेकले पहिलो प्रिमियर लिग सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै २४ क्लिन सिट राखेका थिए। उनले चेल्सीमा ११ सिजन बिताउँदै चार प्रिमियर लिग उपाधि र एक च्याम्पियन्स लिग जिते।
९औँ स्थानमा एलन सियरर छन्। साउथह्याम्पटनबाट जुलाई १९९२ मा ३।६ मिलियन पाउन्डमा ब्ल्याकबर्न पुगेका सियररले क्लबलाई सन् १९९४-९५ सिजनमा पहिलो पटक प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले। उनले उक्त सिजन ३४ गोल गरेका थिए।
८औँ स्थानमा कार्लोस तेभेज छन्। अगस्ट २००६ मा कोरिन्थियन्सबाट वेस्ट ह्याम पुगेका तेभेजले क्लब रेलिगेसनको संकटमा रहेका बेला निर्णायक प्रदर्शन गरे। अन्तिम ११ खेलमध्ये सात खेल जित्दा उनले सात गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडविरुद्ध अन्तिम खेलमा गरेको निर्णायक गोलले वेस्ट ह्यामलाई रेलिगेसनबाट जोगाएको थियो।
७औँ स्थानमा रोबिन्होको स्थानान्तरण छ। सन् २००८ मा रियल मड्रिडबाट ३२।५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटी पुगेका रोबिन्होले पहिलो सिजन ३१ लिग खेलमा १४ गोल गरे। उनको आगमन अबुधाबी युनाइटेड समूहले क्लब खरिद गरेको समयसँग जोडिएको थियो। त्यसपछि सिटीले ठूलो लगानी गर्दै इंग्ल्यान्डकै शक्तिशाली क्लबमध्ये एक बन्ने यात्रा सुरु गरेको थियो।
६औँ स्थानमा लिभरपुलका भर्जिल भान डाइक छन्। जनवरी २०१८ मा साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा लिभरपुल पुगेका भान डाइकको आगमनले टोलीको रक्षापंक्तिमा ठूलो परिवर्तन ल्यायो। उनको आगमनपछि लिभरपुलले अर्को सिजन मात्र एक खेल हार्दै ९७ अंक जोडेको थियो। त्यसपछि टोलीले ३० वर्षपछि प्रिमियर लिग उपाधि जित्यो।
५औँ स्थानमा रोबिन भान पर्सी छन्। अगस्ट २०१२ मा आर्सनलबाट २२।५ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेड पुगेका उनले पहिलो सिजनमै २६ गोल गरे। उनको प्रदर्शनको मद्दतमा युनाइटेडले प्रिमियर लिग उपाधि जित्यो। उक्त उपाधि क्लबको २०औँ लिग उपाधि थियो भने सर एलेक्स फर्गुसनको प्रशिक्षकका रूपमा अन्तिम सिजन पनि थियो।
४औँ स्थानमा सोल क्याम्पबेल छन्। टोटनह्यामबाट आर्सनलमा निःशुल्क स्थानान्तरण भएका क्याम्पबेलको निर्णयले उत्तर लन्डनको फुटबल प्रतिद्वन्द्वितामा ठूलो हलचल ल्याएको थियो। आर्सनलमा पहिलो सिजनमै उनले प्रिमियर लिग र एफए कपको दोहोरो उपाधि जिते। पछि उनी आर्सनलको अपराजित ‘इनभिन्सिबल्स’ टोलीका महत्वपूर्ण सदस्य बने।
३औँ स्थानमा एङ्गोलो कान्टे छन्। सन् २०१५ मा कानबाट ५।६ मिलियन पाउन्डमा लेस्टर सिटी पुगेका कान्टेले क्लबको ऐतिहासिक प्रिमियर लिग उपाधिमा महत्वपूर्ण भूमिका खेले। उनको ऊर्जा, ट्याकल र बल खोस्ने क्षमताले लेस्टरको मिडफिल्डलाई मजबुत बनाएको थियो। त्यसपछि चेल्सीले उनलाई लेस्टरले तिरेको रकमभन्दा करिब पाँच गुणा बढीमा अनुबन्ध गरेको थियो।
२औँ स्थानमा सर्जियो अगुएरो छन्। जुलाई २०११ मा एट्लेटिको मड्रिडबाट ३५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटी पुगेका अगुएरोले डेब्युमै प्रभाव देखाए। पहिलो सिजन २३ प्रिमियर लिग गोल गरेका उनले क्वीन्स पार्क रेन्जर्सविरुद्ध इन्जुरी टाइममा गरेको निर्णायक गोलबाट सिटीलाई लामो समयपछि शीर्ष डिभिजनको उपाधि दिलाए। सिटीमा एक दशक बिताएका अगुएरोले क्लबका लागि २६० गोल गर्दै पाँच प्रिमियर लिग उपाधि जिते।
प्रिमियर लिग इतिहासको सर्वाधिक प्रभावशाली स्थानान्तरणको सूचीमा पहिलो स्थान भने एरिक कान्टोनाले पाएका छन्। नोभेम्बर १९९२ मा लिड्स युनाइटेडबाट १।६ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेड पुगेका कान्टोनाले क्लबको इतिहास नै परिवर्तन गर्ने प्रभाव पारे।
कान्टोना युनाइटेड पुग्दा क्लब २६ वर्षदेखि लिग उपाधिविहीन थियो। उनको आगमनपछि टोलीको प्रदर्शनमा ठूलो सुधार आयो र उनले २३ खेलमा नौ गोल गर्दै युनाइटेडलाई प्रिमियर लिगको पहिलो उपाधि जिताउन महत्वपूर्ण योगदान दिए। ओल्ड ट्राफोर्डमा पाँच वर्ष बिताएका कान्टोनाले चार लिग उपाधि जिते। उनले युनाइटेडमा सफलताको एउटा पुस्ताको आधार तयार गरेपछि सन् १९९७ मा अप्रत्याशित रूपमा फुटबलबाट सन्यास लिएका थिए।
बीबीसीको सूचीले प्रिमियर लिगमा खेलाडी स्थानान्तरण केवल व्यक्तिगत प्रतिभा भित्र्याउने विषय नभई कहिलेकाहीँ क्लबको इतिहास र प्रतियोगिताको शक्ति सन्तुलन नै बदल्ने निर्णायक कदम बन्न सक्ने देखाएको छ।