काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’ अहिले गीतका कारण विवादमा तानिएको छ।
महाभारतका चर्चित पात्र पाँच पाण्डव र द्रौपदीलाई आधुनिक परिवेशको बिम्बका रूपमा प्रस्तुत गरिएको बताइएको फिल्मको नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना र विरोध चर्किएको हो।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलाले पाँच पाण्डवको भूमिकामा अभिनय गरेका छन् भने इभा गिरी द्रौपदीको भूमिकामा देखिएकी छन्।
यसअघि सार्वजनिक पोस्टर र ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ गीतलाई लिएर खासै विवाद नदेखिए पनि शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ गीतपछि भने फिल्ममाथि प्रश्न उठ्न थालेको छ। गीतको भिडियोमा इभा गिरी क्यासिनोको परिवेशमा बोल्ड शैलीमा नृत्य गरिरहेको देखिन्छ। यस्तै, युधिष्ठिरको भूमिकामा रहेका हरिवंश आचार्य पनि क्यासिनोमा तास खेल्दै प्रस्तुत भएका छन्।
महाभारतजस्तो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कथाका पात्रलाई यस किसिमले प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। कतिपयले द्रौपदीजस्तो स्वाभिमानी र शक्तिशाली पात्रलाई बार डान्सरको शैलीमा देखाउनु सनातन आस्थामाथिको प्रहार भएको टिप्पणी गरेका छन्।
गीतमाथि युट्युब र सामाजिक सञ्जालमा समेत आलोचनात्मक प्रतिक्रिया बढिरहेका छन्। केहीले फिल्म बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाएका छन्। हिन्दू धर्मसम्बन्धी विषयमा सक्रिय अभियन्ता बेदिका केसीले पनि सामाजिक सञ्जालमार्फत गीतको विरोध गरेकी छन्। महाभारतकी द्रौपदीको चरित्र र धार्मिक आस्थासँग जोडिएको प्रतीकलाई यस्तो शैलीमा प्रस्तुत गर्नु अनुचित भएको उनको भनाइ छ।
तर, फिल्मका निर्देशक वसन्त निरौलाले भने फिल्म धार्मिक कथामा आधारित नभएको स्पष्ट पारेका छन्। उनका अनुसार महाभारतका पात्रहरूलाई केवल बिम्बका रूपमा प्रयोग गरेर आधुनिक नेपाली समाजको कथा प्रस्तुत गरिएको हो।
निर्देशक निरौलाले फिल्म प्रदर्शनमा आएपछि मात्र यसको सम्पूर्ण सन्दर्भ बुझ्न आग्रह गर्दै सनातन धर्म वा धार्मिक आस्थामा चोट पुर्याउने उद्देश्य नरहेको बताएका छन्। तर, गीत सार्वजनिक भएसँगै उठेको प्रश्न भने यथावत् छ-आधुनिक कथाका लागि धार्मिक तथा ऐतिहासिक रूपमा गहिरो आस्था बोकेका पात्रको नाम र बिम्ब प्रयोग गर्दा सिर्जनात्मक स्वतन्त्रताको सीमा कहाँसम्म हुन्छ ?