काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ आधिकारिक राइड-हेलिङ पार्टनर बनेको छ।
अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने एनपीएलका क्रममा क्रिकेटप्रेमी दर्शकहरूको मैदानसम्मको यात्रा सहज बनाउन इनड्राइभले विभिन्न सुविधा उपलब्ध गराउने जनाएको छ।
प्रतियोगिता अवधिभर दर्शकहरूले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न सक्नेछन्। यात्रुले आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्ने र चालकले त्यसलाई स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको छ। दुवै पक्षको सहमतिमा यात्रा सुरु हुनुअघि नै भाडा निर्धारण हुनेछ।
दर्शकहरूको आवतजावतलाई थप सहज बनाउन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि सञ्चालन गरिएको छ। गेट नम्बर २ नजिक रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकहरूलाई तोकिएको प्रवेशद्वारसम्म पुर्याइने जनाइएको छ।
यातायात सुविधासँगै इनड्राइभले मैदान परिसरमा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गर्ने भएको छ। एक्टिभेसन स्टलमार्फत दर्शकहरूले निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, इनड्राइभको मस्कटसँग तस्बिर खिचाउने, मनोरञ्जनात्मक खेलमा सहभागी हुने तथा दैनिक आकर्षक उपहार जित्ने अवसरसमेत दर्शकहरूले पाउनेछन्। प्रत्येक खेलमा एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’ का रूपमा छनोट गरी विशेष उपहार ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ।
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले नेपालको लोकप्रिय क्रिकेट प्रतियोगितासँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताइन्। उनले यस साझेदारीमार्फत क्रिकेटप्रेमी दर्शकहरूलाई सहज यात्राको सुविधा उपलब्ध गराउनुका साथै मैदानको अनुभवलाई थप रोमाञ्चक बनाउने उद्देश्य रहेको बताइन्।
नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले पनि इनड्राइभलाई एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गरेका छन्। उनले यो साझेदारीले प्रतियोगिताको व्यवस्थापनसँगै दर्शकहरूको समग्र अनुभवलाई अझ सहज र उत्कृष्ट बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
एनपीएलसँगको साझेदारीलाई इनड्राइभले नेपालमा खेलकुद प्रवद्र्धन तथा समुदायसँगको सम्बन्ध विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको जनाएको छ।