काठमाडौं । बाढी तथा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वितरण प्रणालीमा नयाँ व्यवस्था लागू गरेको छ।
खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन नदिन कर्पोरेशनले निजी ग्यास उद्योगसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने व्यवस्था गरेको हो। आइतबार धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था सिर्जना भएको थियो।
त्यसपछि कर्पोरेशनले सहज स्थानमा रहेका निजी ग्यास उद्योगका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भर्ने र वैकल्पिक बाटो हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यस्तो वैकल्पिक व्यवस्था गरिएको हो। उनका अनुसार पहिलो चरणमा निजी प्लान्टमा भरिएका एसटिसी सिलिन्डर शुक्रबारसम्म काठमाडौं ल्याउने तयारी छ। कर्पोरेशनले आफ्नै प्लान्टका लागि छुट्याइएका केही ग्यासका बुलेटसमेत निजी कम्पनीका प्लान्टतर्फ डाइभर्ट गरेको जनाएको छ।
सीमित कोटाबीच कुपन प्रणालीबाट वितरण
नेपाल आयल निगमबाट साल्ट ट्रेडिङले पाउने ग्यासको कोटा सीमित रहेकाले मागअनुसार पर्याप्त ग्यास बिक्री गर्न कठिन भइरहेको कर्पोरेशनले जनाएको छ। निगमले भारतीय आयल कर्पोरेशनसँग कुल ३ हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब २ प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा पर्ने गरेको जनाइएको छ।
हाल कर्पोरेशनले मासिक करिब ५५ हजारदेखि ६० हजारसम्म एसटिसी सिलिन्डर बिक्री गर्दै आएको छ। निजी ग्यास कम्पनीहरूले विभिन्न कारण देखाउँदै आपूर्ति प्रभावित हुँदा उपभोक्ताले समस्या भोग्दै आएका बेला साल्ट ट्रेडिङले कुपन प्रणालीमार्फत वितरणलाई व्यवस्थित गरेको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाका अनुसार उपभोक्तालाई कुपन दिँदै ग्यास प्राप्त गर्ने दिनसमेत सुनिश्चित गरिने व्यवस्था गरिएको छ।
छ महिनालाई पुग्ने नुन मौज्दात
साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको आपूर्ति निरन्तर राख्न पर्याप्त मौज्दात रहेको जनाएको छ। भदौ १७ गतेसम्म कर्पोरेशनका विभिन्न भण्डारणमा १ लाख २७ हजार ३६१ मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात रहेको झाको भनाइ छ।
देशभर वार्षिक २ लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ। गत आर्थिक वर्षमा मात्रै कर्पोरेशनले करिब २ लाख १० हजार टन नुन बिक्री वितरण गरेको जनाएको छ। कर्पोरेशनले विपद् तथा असहज परिस्थितिमा समेत अत्यावश्यक वस्तुको आपूर्ति अवरुद्ध हुन नदिन नुनको पर्याप्त भण्डारणलाई प्राथमिकता दिएको जनाएको छ।
चिनीमा बजार हस्तक्षेप
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढ्दै गएपछि साल्ट ट्रेडिङले चिनीको बिक्री वितरणमा समेत बजार हस्तक्षेप गरेको छ। निजी क्षेत्रबाट प्रतिकिलो १३५ रुपैयाँसम्ममा बिक्री भइरहेको चिनी कर्पोरेशनले १०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको जनाएको छ।
कर्पोरेशनका अनुसार भदौ ९ गते मात्रै ६ सय टन चिनी आयात गरिएको थियो। पछिल्ला दिनमा कर्पोरेशनले करिब ३ हजार टन चिनी बजारमा पठाइसकेको जनाएको छ। चामल, दाल, गेडागुडी र तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा आफूले बिक्री वितरण गर्दै आएका खाद्यान्नको मूल्य भने स्थिर राख्न सफल भएको कर्पोरेशनको दाबी छ।
नाफाभन्दा अत्यावश्यक वस्तुको निरन्तर आपूर्ति प्राथमिकता
साल्ट ट्रेडिङले विपद् तथा संकटका समयमा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्नु आफ्नो प्रमुख दायित्व भएको जनाएको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाले सरकारी-निजी स्वामित्वको संस्थाका रूपमा कर्पोरेशनको उद्देश्य नाफा कमाउनु मात्र नभई असहज परिस्थितिमा समेत नुन, ग्यास, चिनी तथा अन्य अत्यावश्यक खाद्य वस्तुको निरन्तर आपूर्ति सुनिश्चित गर्नु रहेको बताए।
बाढी, पहिरो तथा सडक अवरोधका कारण आपूर्ति प्रणाली प्रभावित भइरहेका बेला साल्ट ट्रेडिङले निजी क्षेत्रसँग सहकार्य, वैकल्पिक ढुवानी मार्ग, कुपन प्रणाली र पर्याप्त मौज्दातमार्फत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिएको छ।