काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्।
चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहीबार ११४ जना र दोस्रो दिन शुक्रबार १५५ जना गरी दुई दिनमा २६९ जना नेपाल फर्किएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक हुन्। त्यस्तै, धादिङका एक जना र काठमाडौंका नौ जना रहेका छन्। चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।
नेपाल आइपुगेका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि काठमाडौं लगिने तयारी गरिएको छ। पहिलो दिन फर्किएका नेपालीका लागि भोटेकोशी गाउँपालिकाले काठमाडौंसम्म पुग्ने यातायातको व्यवस्था गरेको थियो भने शुक्रबार फर्किएका नागरिकका लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ।
रसुवामा आएको भीषण बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए। बाढी र त्यसपछि अवरुद्ध भएको सीमावर्ती क्षेत्रका कारण चीनतर्फ पुगेका तथा उतै रोकिएका नेपालीहरू स्वदेश फर्किन कठिनाइमा परेका थिए। प्रशासनका अनुसार बाढीपछि चीनतर्फ करिब ८ सय नेपाली फसेका छन्। उनीहरूलाई चिनियाँ पक्षको समन्वयमा तातोपानी नाका हुँदै क्रमशः नेपाल ल्याउने प्रक्रिया जारी छ।
यससँगै बाढीपछि सीमापारि फसेका नेपालीको उद्धार तथा स्वदेश फिर्ती अभियानले गति लिएको छ। दुई दिनमै २६९ नेपाली स्वदेश फर्किनुले अझै चीनतर्फ रहेका नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याउने प्रयास प्रभावकारी रूपमा अघि बढिरहेको संकेत गरेको छ।
अब बाँकी रहेका नेपालीलाई पनि चरणबद्ध रूपमा नेपाल ल्याउने र उनीहरूको आवश्यक विवरण संकलन तथा व्यवस्थापन गर्ने कामलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ।