काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन चीन सरकारले पठाएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई-२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। यसपटकको राहत सामग्रीमा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने विभिन्न सामग्रीसँगै शव व्यवस्थापनका लागि प्रयोग हुने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त सडक तथा आवतजावत पुनः सहज बनाउन आवश्यक पर्ने बेलीब्रिज पनि चीनले पठाएको छ। बेलीब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने यसअघि नै स्थलमार्ग हुँदै लिजी-नेचुङ सीमा नाकासम्म आइपुगेको जनाइएको छ।
बाढीमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा नेपाललाई प्राविधिक सहयोग गर्न चीनबाट १० जना फरेन्सिक विज्ञसमेत नेपाल आएका छन्। उनीहरूले नेपाली सम्बन्धित निकायसँग समन्वय गरी फेला परेका शवको पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रिया अघि बढाउन सहयोग गर्नेछन्।
चीनबाट आएको राहत सामग्री तथा फरेन्सिक विज्ञ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्वागत गरेका थिए। मन्त्री पुनले नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञ टोलीलाई स्वागत गर्दै बाढीपहिरोबाट प्रभावित नागरिकको पहिचान तथा राहत कार्यमा उनीहरूको प्राविधिक सहयोग महत्वपूर्ण हुने बताए।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। बाढीपछि बेपत्ता तथा मृतकको संख्या ठूलो रहेकाले शव पहिचान अहिले पनि चुनौतीपूर्ण बनेको छ।
यस्तो अवस्थामा चिनियाँ फरेन्सिक विज्ञको प्राविधिक सहयोग र शव व्यवस्थापनका लागि आवश्यक फ्रिजरलगायतका सामग्रीले पहिचान प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। चीनले यसअघि पनि रसुवा बाढी प्रभावितका लागि राहत सामग्री पठाउँदै आएको छ। पछिल्लो खेपमा बेलीब्रिजसमेत आएपछि बाढीबाट अवरुद्ध भएको यातायात तथा पूर्वाधार पुनर्स्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।