काठमाडौं । भगवद्गीता मानव जीवनका समस्या र त्यसका समाधानबारे मार्गदर्शन दिने महत्वपूर्ण ग्रन्थका रूपमा लिइन्छ। वेद र उपनिषद्को ज्ञानमा आधारित गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशलाई जीवनोपयोगी शिक्षाका रूपमा व्याख्या गरिएको छ।
गीताले सुख-दुःख तथा जय-पराजयमा समान भाव राख्न, फलको चिन्ता नगरी कर्ममा ध्यान दिन, मनलाई नियन्त्रणमा राख्न, आफ्नो कर्तव्य अर्थात् स्वधर्म पालना गर्न, ईश्वरप्रति आस्था राख्न तथा आसक्तिबिना कर्म गर्न प्रेरित गर्छ। यी शिक्षाले जीवनलाई सहज र समस्यामुक्त बनाउन सहयोग गर्ने बताइएको छ।
१. सुख-दुःख र जय-पराजयमा समभाव
गीतामा सुख वा दुःख, विजय वा पराजय तथा लाभ-हानिजस्ता जीवनका उतारचढावमा समभाव राख्न भनिएको छ। जीवनमा सुख र दुःख दुवै स्थायी नहुने भएकाले कुनै अवस्थामा अत्यधिक उत्साहित वा निराश नभई धैर्य र संयम कायम राख्नुपर्ने सन्देश गीताले दिन्छ।
२. फलको चिन्ता होइन, कर्ममा ध्यान
गीताको अर्को महत्वपूर्ण शिक्षा आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्नु हो। मानिसले कर्म गर्न सक्छ तर त्यसको परिणाम पूर्ण रूपमा आफ्नो नियन्त्रणमा हुँदैन। त्यसैले परिणामको अत्यधिक चिन्ता गर्नुभन्दा आफूले गर्नुपर्ने काममा शतप्रतिशत ध्यान दिनुपर्ने सन्देश गीतामा दिइएको छ।
३. मनलाई वशमा राख्ने
मानिसका लागि उसको मन नै मित्र र शत्रु दुवै बन्न सक्ने गीतामा उल्लेख छ। मन र इन्द्रियमाथि नियन्त्रण राख्न सके मानिस आफ्नै मित्र बन्न सक्छ भने नियन्त्रण गुमाउँदा त्यही मन उसको बाधक बन्न सक्छ। त्यसैले भावनामा बगेर निर्णय गर्नुभन्दा विचार र व्यवहारमा संयम अपनाउनुपर्ने शिक्षाले जोड दिन्छ।
४. आफ्नो स्वधर्म र कर्तव्य पालना
गीताले मानिसलाई आफ्नो स्वभाव, क्षमता र योग्यताअनुसारको कर्तव्य पूरा गर्न प्रेरित गर्छ। अरूको काम वा बाटो आफूलाई राम्रो देखिए पनि आफ्नो स्वभाव र क्षमताविपरीतको कामले अपेक्षित कल्याण नदिन सक्ने बताइएको छ। त्यसैले आफ्नो क्षमता र रुचि पहिचान गरी त्यसअनुसारको कर्तव्यमा अघि बढ्नुपर्ने सन्देश दिइएको छ।
५. ईश्वरमा आस्था र कर्तव्यमा समर्पण
गीतामा आफ्नो कर्तव्यप्रति एकाग्र र समर्पित भएर कर्म गर्न भनिएको छ। कर्तव्य र कर्मफललाई परमात्मामा समर्पण गरी एकचित्त भएर काम गर्दा आत्मविश्वास तथा सकारात्मक ऊर्जा बढ्ने र कार्यमा प्रभावकारिता ल्याउन सकिने व्याख्या गरिएको छ।
६. आसक्तिबिना कर्म गर्नु
कर्म गर्दा अहंकार र अत्यधिक लालसाबाट मुक्त रहनुपर्ने गीताको अर्को शिक्षा हो। आफूले गरेको कर्ममा अत्यधिक आसक्ति नराखी निष्काम भावले काम गर्न सके कर्मले मानिसलाई बन्धनमा नपार्ने विचार प्रस्तुत गरिएको छ। ईशावास्योपनिषद्को सन्दर्भमा पनि आवश्यकताअनुसार मात्र भोग गर्दै लोभबाट टाढा रहनुपर्ने उल्लेख गरिएको छ।
७. आफूलाई अविनाशी चेतनासँग जोड्नु
गीताले शरीर र मनभन्दा पर रहेको आत्मा वा चेतनालाई अविनाशी मान्छ। शरीरमा परिवर्तन आए पनि आत्मा नाश नहुने भएकाले मानिसले आफूलाई केवल शरीरसँग मात्र जोडेर हेर्न नहुने सन्देश दिइएको छ। शरीर नाशवान् भए पनि आत्मा अमर, अजर र अविनाशी रहेको गीताको दर्शनमा उल्लेख छ।
यसरी भगवद्गीताका यी सात सूत्रले जीवनका कठिन परिस्थिति, सफलता-असफलता, मानसिक द्वन्द्व र कर्तव्यप्रतिको दृष्टिकोणलाई सन्तुलित बनाउन मार्गदर्शन गर्ने बताइएको छ। सुख-दुःखमा समभाव राख्दै कर्ममा केन्द्रित हुने, मनलाई नियन्त्रणमा राख्ने र आसक्तिबिना आफ्नो कर्तव्य पूरा गर्ने शिक्षालाई सफल जीवनको आधारका रूपमा प्रस्तुत गरिएको छ।